महिलाहरूलाई राजनीतिमा सजिलो छैन : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपाली महिलाहरूको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छिन् ।

बुधबार काठमाडौंमा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा डा.राणाले भनिन्, ‘महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन् ।’

‘महिलाले महत्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन्,’ उनले भनिन्, ‘त्यो सबै नेपाली महिलाहरुले गरेको संघर्षकै उपलब्धि हो ।’

परराष्ट्रमन्त्री डा.राणाले नेपाली कांग्रेसकै महिला नेतृहरू मङ्गलादेवी सिंहदेखि लिएर शैलजा आचार्यसम्मका महिलाहरूको योगदानको स्मरण गरेकी छिन् । ‘उहाँहरू र अरु पनि महिला नेतृहरूको लामो संघर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको छ,’ डा.राणाले भनिन् ।

वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै संघर्ष गर्न बाँकी रहेको उनले बताएकी छिन् । परराष्ट्रमन्त्री डा.राणाले २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्तिसम्मका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूको सक्रिय सहभागिता रही आएको बताइन् ।

डा.राणाले भनिन्, ‘उहाँहरूकै प्रेरणाबाट हामी पनि महिला अधिकारको संघर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानूनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ ।’

वर्तमान संविधानले नेपालको संघीय तथा प्रदेश संसदमा कम्तीमा ३३ प्रतिशत र स्थानीय तहहरूमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गर्नु सकारात्मक रहेको उनले बताइन् ।

डा.राणाले उपलब्धिहरूको रक्षा गर्दै कानूनी सुनिश्चिततालाई अर्थपूर्ण र व्यवहारिक बनाउन महिलाले नै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताएकी छिन् ।

महिला अधिकारको अहिलेको अवस्था त्यसै नआएको र वर्तमान संवैधानिक सुनिश्चितताका लागि पनि संविधान लेख्ने बेलामा आफूहरूले निकै संघर्ष गर्नुपरेको परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् । डा.राणाले महिलालाई राजनीतिमा सजिलो नरहेको अनुभव सुनाएकी छिन् ।

‘हाम्रो समाजमा अहिले पनि पितृसत्तात्मक सोच हावी नै छ । महिलालाई राजनीतिमा सजिलो छैन,’ डा.राणाले भनिन्, ‘त्यसैले महिलाका लागि महिला नै लाग्नुपर्छ, लढ्नुपर्छ भनेर नै हामीले सबै दिदीबहिनीहरूलाई जागरुक ग¥यौँ, सशक्त बनायौँ र अधिकारका लागि अघि बढ्न तयार पा¥यौँ ।’

उनले नेपालमा मात्र नभएर विश्वका अरु देशहरुमा पनि महिलालाई राजनीति गर्न गाह्रो हुने गरेको अनुभव विश्वका नेतृहरूले सुनाउने गरेको पनि बताएकी छिन् ।

Published : Wednesday, 2025 August 20, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया