पोखरा १५ अर्ब भ्रष्टाचार काण्डमा कारबाही सिफारिस प्रदीपविरुद्ध अख्तियारसहित ३ निकायमा उजुरी
काठमाडौं । अधिवक्ता एवम् समाजसेवी युवराज पौडेल ‘सफल’ले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल निलम्वन गरी आवश्यक कारबाही गरी पाउँ भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा उजुरी दिएका छन् ।
‘देशभक्त नेपाली नागरिक’को नामबाट पौडेलले भदौ १ गतेको मितिमा उजुरी लेखेर महानिर्देशक अधिकारीलाई निलम्बनको माग गरेका हुन् । महानिर्देशक अधिकारीलाई पौडेलले भ्रष्ट डीजी भनेका छन् ।
संसदको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा झण्डै १५ अर्ब रुपियाँ भ्रष्टाचार भएको ठहरसहित महानिर्देशक अधिकारीमाथि आवश्यक कानूनी कारबाहीको लागि लेखेर पठाएको छ ।
सामाजिक अभियन्ता पौडेलले प्रधानमन्त्री, सभामुख र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष महानिर्देशक अधिकारीलाई तत्काल निलम्बन गरेर आवश्यक कानूनी कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उजुरी दर्ता गराएका हुन् ।
पौडेलले उजुरीमा भनेका छन्, ‘२०७८ साल माघ महिनामा तत्कालीन डिजी राजन पोखरेल अवकाश भएपछि तत्कालीन १२ तहमा ६ जना वरिष्ठ अधिकारी हुँदाहुँदै तत्कालीन पर्यटनमन्त्री प्रेम आलेलाई करोडौं रकम घूस खुवाई हालसम्म प्राधिकरणमा कहिले नभएको अभ्यास ११ तहबाट डिजी हुने काम प्रदीप अधिकारीले गरेका छन् ।’
‘डिजी हुँदा २०७८ सालमा प्राधिकरणको कोषमा करिव २८ अर्ब रकम रहेको थियो । तर, चलोस नचलोस जेसुकैभए पनि निर्माणमा मात्रै खर्च गर्नुपर्छ सेटिङ्ग गरेरजरी भए पनि आफ्नो लगानी रहेको ठेकेदार कम्पनी उमा एण्ड कम्पनी, क्षमादेवी कन्ट्रक्सन तथा परामर्शतर्फ ए नट, स्लेट लगायतलाई मात्र ठेक्कापट्टा दिने कार्य हालसम्म पनि चलिरहेको छ,’ पौडेलले उजुरीमा भनेका छन् ।
पौडेलले उजुरीमा भनेका छन्, ‘२०७४ सालमा तत्कालीन डिजी सञ्जीव गौतमलाई दलाली गरी पोखरा विमानस्थलबाट अर्बौं लुट भ्रष्टाचार गरेर नपुगी पोखरा, भैरहवा र निजगढ विमानस्थल समेटी प्राधिकरणमा हुँदै नभएको राष्ट्रिय गौरव आयोजना नामको संस्था खडा गरी ३ वटै आयोजनाको प्रमुख भई तत्कालीन प्राधिकरणको सिवल निर्माणतर्फको करिव ८० प्रतिशत बजेट सञ्चालन गर्दा अर्बौं रकम भ्रष्टाचार गरेको ।’
‘संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले समेत पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार, संसद र नेपाल सरकारको नाममा निर्देशन समेत दिएको अवस्थालाई हेर्दा पनि निज प्राधिकरणका डिजीलाई तत्काल निलम्वन गरी कानून बमोजिम कारबाही गर्नु नै मनासिब हुने देखिन्छ,’ पौडेलले उजुरीमा भनेका छन् ।
‘पोखरा विमानस्थल निर्माणमा करीव ९ अर्ब २३ करोड बढी भ्रष्टाचार भएको र सो भ्रष्टाचार प्रकरणका मुख्य योजनाकार एवम् आरोपी समेत उनै डिजी प्रदीप अधिकारी भएकोले तत्काल तिनलाई निलम्बन गरी प्रचलित नेपालको कानून बमोजिम कारबाही गरी पाउँ,’ पौडेलले भने, ‘अत उठान गरिएका विषयमा गहन र विस्तृत अनुसन्धान गरी दोषी उपर हदैसम्मको कारबाही गरियोस् भनि उल्लेखित उजुरी पेश गरेको छु ।’
लेखा समितिले पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरिसकेको छ । कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् ।












बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया