सौर्य जहाजका पीडितद्वारा न्यायिक जाँचको माग, महानिर्देशक अधिकारी फस्ने सम्भावना

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई झण्डै १५ अर्ब घोटालामा मुख्य नाइके बनाएर कारबाही सिफारिस भएका बेला सौर्य जहाज दुर्घटनाका पीडित परिवारले गृहमन्त्री रमेश लेखकसँग दुर्घटनाको न्यायिक जाँच गर्न माग गरेका छन् ।

सोमबार सिंहदरबारमा गृहमन्त्री लेखकलाई भेट गरी पीडित परिवारहरूले मागपत्र बुझाएका छन् । सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाँइ र नाति गुमाएका पत्रकार प्रकाश खतिवडाले गृहमन्त्री लेखकलाई भेटी रतिशचन्द्र लाल नेतृत्वको सरकारी आयोगले अपूरो प्रतिवेदन तयार गरेर सरकारलाई बुझाएको बताए ।

प्रतिवेदनले प्राधिकरणको नेतृत्वका विषयमा गम्भीर प्रश्न पनि उठाएको छ । प्राधिकरणको नेतृत्व अधिकारीले सम्हालेपछि हवाई दुर्घटनाहरू धेरै भएका छन् । महानिर्देशक अधिकारीले ठूला र साना दुर्घटनाहरू धेरै हुँदा समेत नैतिक जिम्मेवारी लिएका छैनन् । बरु राजनीतिक शक्ति र पहुँचका आधारमा जोगिदै आएका छन् ।

पीडितहरूको मागअनुसार न्यायिक छानविन बन्यो भने प्राधिकरणका महानिर्देशक अधिकारी नराम्रोसँग फस्ने सम्भावना रहन्छ । न्यायिक छाननिवलाई जिम्मेवार सबैलाई कारबाही सिफारिस गर्ने अधिकारी हुन्छ ।

खतिवडासहित पीडित परिवारका आफन्तले दुर्घटनाको न्यायिक जाँच गर्न न्यायिक जाँच आयोग गठन गर्न माग गरेका छन् । मागपत्रमा सौर्य जहाज दुर्घटना जाँच प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था देखिएकाले न्यायिक जाँच आयोग गठन गर्न माग गरेको उनले बताए ।

गृहमन्त्री लेखकलाई बुझाइएको मागपत्रमा सौर्य जहाज यति ठूलो मानवीय लापरबाही र गम्भीर त्रुटिले दुर्घटना भएको पुष्टि हुँदा पनि कुन कानूनअनुसार कारबाही हुने भन्ने अन्योल रहेकाले न्याय निरूपण कसरी गर्ने भन्ने विषयलाई सम्बोधन गर्न न्यायिक जाँच आवश्यक रहेको उल्लेख छ ।

प्रतिवेदनले दुर्घटनाको कारण मानवीय त्रुटि हो भन्ने किटानीका साथ निष्कर्ष प्रस्तुत गरेको थियो । प्रतिवेदनलाई अदालती प्रमाणका रूपमा प्रस्तुत गर्न नपाइने भन्ने उल्लेख गरेकाले पीडितको न्याय एवं तथ्य, प्रमाण र घटनाको वास्तविकतालाई सुनिश्चित गर्न न्यायिक जाँच आवश्यक रहेको मागपत्रमा जनाइएको छ ।

रतिशचन्द्रलाल नेतृत्वको सरकारी जाँच आयोग कानूनले तोकिएको योग्यता नपुगेका व्यक्तिलाई राखेर गठन गरिएको भनिएको छ । आयोगले मुख्य दोषीलाई उन्मुक्ति दिने आशयको नियोजित प्रतिवेदन तयार गरेको बताइएको छ ।

आयोगको जाँच अनुसन्धानको प्रक्रिया, निष्कर्ष एवं विश्वसनीयताउपर थप जाँच गर्नुपर्ने अवस्था रहेकाले समेत न्यायिक जाँच आवश्यक रहेको मागपत्रमा माग गरिएको छ ।

सौर्य जहाज दुर्घटना जाँच प्रतिवेदनमा तथ्यगत फरक पर्ने अवस्था देखिएको जनाउँदै मागपत्रमा ‘फेरि’ उडानका विषयमा प्रतिवेदनमा उल्लेख छ । ३४ दिनदेखि ग्राउन्डेड मर्मत गर्न लगिएको गैरव्यावसायिक ‘फेरि उडान’मा व्यावसायिक उडानसरह यात्रु बोकेर गैरकानूनी उडान किन गरियो प्रतिवेदनले स्पष्ट नगरेको जिकिर गरिएको छ ।

गृहमन्त्री रमेश लेखकले पीडितलाई न्याय दिलाउन र घटनाको पुनः जाँच गराउन आवश्यक पहल गर्ने आश्वासन दिएको पत्रकार खतिवडाले बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०८१ साउन ९ गते सौर्य जहाज दुर्घटना भएको थियो । दुर्घटना जाँच अनुसन्धान गर्न सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलालको नेतृत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो । दुर्घटनामा खतिवडाका तीन सन्ततीसहित १८ जनाको ज्यान गएको थियो ।

उता, महानिर्देशक अधिकारीलाई प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै १५ अर्ब घोटाला र भ्रष्टाचार भएको भन्दै पहिलो नम्बरमा राखेर कारबाही सिफारिस गरिसकेको छ ।

लेखाले पोखरा विमानस्थलको झण्डै १५ अर्ब भ्रष्टाचार प्रकरणमा महानिर्देशक अधिकारीलाई प्रमुख नाइकेको रुपमा निलम्बन गरि कारबाही गर्न सरकार, अख्तियार र सम्पत्ति शुद्धीकरण विभागलाई सिफारिस गरिसकेको छ । कारबाहीको यो सूचीमा महानिर्देशक अधिकारीसँगै निर्देशक ई.बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, प्रबन्धक राजेन्द्रप्रसाद पौडेल, प्रबन्धक विनेश मुनाकर्मी, पूर्वमहानिर्देशकद्वय सञ्जीव गौतम र राजन पोखरेल रहेका छन् ।

Published : Tuesday, 2025 August 19, 9:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया