काठमाडौंमा ५ हजार ५८५ फरार प्रतिवादी पक्राउ, अघिल्लो वर्षको तुलनामा ४२१ प्रतिशत सफलता

काठमाडौं । कर्तव्यनिष्ट र दिइएको जिम्मेवारी इमान्दारी पूर्वक पूरा गर्ने अठौटसहित मुलुकको राजधानीको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी यतिबेला चर्चाको शिखरमा छन् ।

काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हाले यता काठमाडौंको शान्ति सुरक्षा, अपराध नियन्त्रणको जिम्मेवारीलाई सहज रुपमा पुरा गरिरहेका अधिकारी काठमाडौंमा गुण्डाराज निरुत्साहित पार्नेदेखि शान्ति सुरक्षालाई केन्द्रमा राखेर काठमाडौं प्रहरीलाई मुभ गराउन सफल हुँदै गएका छन् ।

जनघनत्व बढी भएको राजधानी काठमाडौंमा हरेक दिनजसो ठूला र साना अप्रेसन चलाइरहेका प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीको उपलब्धी शान्ति सुरक्षामा भने सीमित छैन् । जनशक्ति अभाव र सीमित स्रोतसाधनको अधिकत्म प्रयोग गरी अधिकारीले फैसला कार्यान्वयनमा पनि जवरजस्त उपलब्धी हासिल गरेका छन् ।

काठमाडौं प्रहरी परिसरले गत आर्थिक वर्षमा देशभरमै सबैभन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको रेकर्ड छ । एक वर्षको अवधिमा परिसरले काठमाडौंबाट मात्रै ५ हजार ५ सय ८५ जना फरार अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले जानकारी दिए ।

‘गत आर्थिक वर्षमा फैसला कार्यान्वयनलाई नेपाल प्रहरीले प्राथमिकतामा राख्दै देशभरबाट २४ हजार ३८२ फरार अभियुक्त पक्राउ गरेको देखिन्छ,’ उनले भने, ‘त्यसमध्ये काठमाडौं जिल्लाबाट मात्रै हामीले ५ हजार ५८५ जना पक्राउ गरी अघिल्लो वर्षको तुलनामा ४२१ प्रतिशत बढी सफलता हासिल गरेका छौं ।’

फरार अभियुक्त पक्राउमा मुलुकभरमै अग्रणी स्थान बनाउन सफल भएको काठमाडौं परिसरले आर्थिक वर्ष २०८०/८१ मा १ हजार ६७ जना फरार अभियुक्त पक्राउ गरेको थियो ।

‘फैसला कार्यान्वयनलाई परिसरले विशेष रणनीति बनाएर लागू गरेको छ,’ अधिकारीले भने, ‘अपराध गरेर लुकेर बस्ने ठाउँ राजधानी होइन, फैसला कार्यान्वयन रफ्तारका साथ अघि बढ्छ ।’

नेपाल प्रहरी संगठनको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार दण्डहीनताको अन्त्यका लागि फैसला कार्यन्वयनलाई उच्च प्राथमिकतामा राखेको छ ।

‘एकै जिल्लाबाट हजारौं फरार अपराधी पक्राउ हुनु प्रहरी संगठनप्रतिको जनविश्वास मजबुत बनाउन निर्णायक सावित भएको छ,’ उनले भने, ‘विशेषगरी राजधानीमै कानूनी शासनको कार्यान्वयनमा देखाइएको यो कडाइले कानूनभन्दामाथि कोही छैन भन्ने सन्देश बलियो बनाएको छ ।’

Published : Monday, 2025 August 18, 9:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया