अख्तियारद्वारा प्रमुख प्रशासकीय अधिकृत मण्डलसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर मण्डलसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मंगलबार अख्तियारले मण्डलसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा अभियोग पत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । गैरकानूनी लाभ वा हानि पु¥याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूका साथै जनकपुर टुडे मिडिया ग्रुप प्रा.लि. र अमृत मिडिया प्रा.लि.लाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

आर्थिक वर्ष २०७७÷७८ मा डिप बोरिङ जडान, कोल्डस्टोरको कम्पाउण्ड वाल र विद्यालय भवन निर्माणका लागि तीन योजनाको बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्नेमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डल र सह–लेखापाल विनोदकुमार मण्डललगायतले मिलेमतो गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।

अनुसन्धानका क्रममा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष वृजकुमार यादव, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रा.लि.का प्रतिनिधि संजयकुमार यादवसमेतको मिलेमतोमा एकै दिनको पत्रिकामा फरक–फरक विवरण भएका प्रति तयार गरी अभिलेखमा राखिएको पाइएको जनाइएको छ ।

अख्तियारका अनुसार जनकपुर टुडेमा २०७८ वैशाख २३ गते एकप्रतिमा मात्र खुला बोलपत्र आह्वानको सूचना प्रकाशित भएको थियो । सोही सूचनालाई आधार बनाएर दुई छुट्टाछुट्टै योजनाको विज्ञापनका नाममा ३ लाख ८० हजार रुपियाँ जनकपुर टुडे प्रा.लि.लाई भुक्तानी गरिएको थियो ।

सार्वजनिक खरिद प्रक्रियालाई अपारदर्शी बनाई प्रतिस्पर्धा सीमित गर्ने बदनियतले सूचना लुकाईछिपाई गैरकानूनी भुक्तानी दिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले संलग्न पाँच जनाविरुद्ध सजायको मागदाबीसहित आरोपपत्र दायर गरेको छ ।

Published : Tuesday, 2026 October 6, 7:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया