परराष्ट्रमन्त्री डा.राणासँग भारतीय विदेशसचिव मिश्रीद्वारा भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।
आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा डा.राणा र मिश्रीबीच भेट भएको हो । वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका विविध आयामहरूको विषयमा छलफल भएको छ ।
नेपाल–भारत आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरूमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाको सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्व दिँदै आएको बताएकी छिन् । उनले नेपालको एक महत्वपूर्ण विकास साझेदारका रुपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रहरूमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिएकी छिन् ।
डा.राणाले दुई देशका बीचमा पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापहरूका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक इङ्गेजमेन्ट बढेकामा पनि खुसी व्यक्त गरेकी छिन् ।
कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रुपमा सहयोग पुग्ने र दुवैतर्फको पर्यटन एवं आर्थिक क्रियालापहरूका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरूको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्ने डा.राणाले बताएकी छिन् ।
डा.राणाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय शहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि आग्रह गरेकी छिन् ।
नेपालगञ्ज–दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा भारतीय विदेशसचिव मिश्रीसँग डा.राणाको आग्रह छ ।
परराष्ट्रमन्त्री डा.राणाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणको तदारुकतामा ध्यान दिनुपर्ने बताएकी छिन् ।
डा.राणाले नेपाल–भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा सहयोग गर्नुपर्ने बताएकी छिन् ।
पछिल्लो समयमा प्लाईवुड, स्टिल लगायतका उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दाहरू र बिआइएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइका बारेमा पनि छलफल भएको छ ।
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभका विषयमा पनि आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्न तथा बाढी र डुबान नियन्त्रणका बारेमा आपसमा सहकायका साथ अघि बढ्न सकिने विषयमा परराष्ट्रमन्त्री डा.राणाले बताएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया