पशुपतिनाथ मन्दिरमा टिकटक बनाउने मुस्लिम जोडीलाई कारबाही गर्न साईबर ब्यूरोलाई पत्राचार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले असोज १९ गते पशुपतिनाथ मन्दिर परिसरमा भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ ।

मंगलबार कोषको कार्यसम्पादन समितिको आकस्मिक बैठकले मुस्लिम जनाउने प्रियंका सनी नामक टिकटक अकाउन्टमा भिडियो बनाएर सम्प्रेषण गर्नेलाई कारबाही गर्न नेपाल प्रहरीको साईबर ब्यूरोलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकपछि जारी भएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘श्री पशुपतिनाथ मन्दिरमा हिन्दु धर्मावलम्बीहरूलाई मात्र प्रवेशको अनुमति रहेको जानकारी हुँदाहुँदै मिति २०८३ असोज १९ गते प्रियंका सनी नामको टिकटक अकाउन्टबाट आफूलाई मुस्लिम जनाउने एक जोडी श्रीपशुपतिनाथ मन्दिरको मूल प्रवेशद्वारबाट प्रवेश गरेको भिडियो सार्वजनिक भएको विषयमा कोषको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै घटनामा संलग्न व्यक्ति तथा भिडियो तयार गरी सार्वजनिक गर्ने व्यक्तिमाथि हदैसम्मको कारवाही तथा सजायका लागि नेपाल प्रहरी, साइवर ब्यूरोमा पत्राचार गर्ने निर्णय गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कोषले उक्त घटनाका सम्बन्धमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूबाट के–कस्तो कमजोरी भएको हो तथा घटनाको सत्यतथ्य यथार्थ रूपमा पत्ता लगाई सुझावसहितको प्रतिवेदन पेस गर्न परिपद् सदस्य रामशोभित नायकको संयोजकत्वमा समिति गठन गरेको छ । समितिको सदस्यहरूमा गङ्गासागर बानियाँ, संगीताकुमारी राम, केदारमान भण्डारी र रूपा शाही वास्तोला रहेका छन् । छानविन समितिलाई एक हप्ताभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनाबाट पशुपतिनाथ मन्दिर परिसरको सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाउन सम्वन्धित निकायसँग आवश्यक समन्वय गरी सुरक्षा कार्यलाई सुदृढ बनाउने निर्णय पनि कोषले गरेको छ ।

घटनामा पशुपतिनाथ मन्दिर परिसरमा खटिएका कोषका कर्मचारी, सुरक्षाकर्मी तथा नेपाल सरकारबाट खटिएका विभिन्न निकायका सुरक्षाकर्मीहरूबाट हुन गएको कमजोरीप्रति कोषको तर्फबाट क्षमायाचना गर्ने निर्णय गरिएको कोषले विज्ञप्तिमार्फत् जनाएको छ ।

घटनाप्रति चिन्ता, चासो तथा प्रतिक्रिया व्यक्त गर्ने सम्पूर्ण संघ–संस्था एवं महानुभावहरूप्रति कोषले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

Published : Tuesday, 2026 October 6, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया