अधिवेशनमा सहभागी युवाहरूलाई गुण्डा भनेर अश्लील गाली गरेपछि लिङ्देनसँग युवापुस्ता आक्रोशित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको लोगो, झण्डा, चुनाव चिन्ह, सम्पत्ति र नाम दुरुपयोग गरेर व्यक्तिगत स्तुतिगान र एकल प्रचार गरेका छन् जो पार्टीभित्र पूर्ण अलोकप्रिय बनेको छ ।

‘हामी व्यक्तिको पछाडि लागेको हैनौं, हामी राजसंस्थाको पक्षधर हौं र हामी राप्रपाको पछि लागेका हौं,’ भनेर सामाजिक संजालमा लिङ्देनको ‘देवत्वकरण क्याम्पेन’विरुद्ध पार्टी सदस्यहरूले अभियान चलाएका छन् । लिङ्देनको देवत्वकरणमा प्रवासी नेपालीले दिएको चन्दा सहयोग, नेताहरूको लेबी र लाखौं लाख पार्टी कोष दुरुपयोग भएको भन्ने आशंका गरिएको छ ।

भाषणमा आदर्शको कुरा गर्ने, व्यवहारमा भने विधान नमान्ने जस्ता लिङ्देनको दोहोरो मापदण्ड हाल राप्रपामा आलोचित छ । युवा संगठनको जिल्ला अधिवेशनका सहभागीहरूलाई गुण्डा भन्ने, सुधार गृहबाट आएको भन्दै अश्लील शब्दले गाली गरेपछि युवा पुस्ता लिङ्देनप्रति आक्रोशित छन् ।

‘मूल कुरा के हो, पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन जिन्दावाद भन्दै पन्ध्र, बीस साथीहरू लिएर युवा संगठनको जिल्ला अधिवेशन हलमा छिर्नुभयो । त्यतिखेर तीन÷चार सय युवाले राप्रपा जिन्दावाद भन्ने नारा लगाए । त्यो कुरा अध्यक्षलाई पचेन र अश्लील शब्दले समेत गाली गर्न थाल्नुभयो,’ युवा अधिवेशनका एक सहभागीले भने ।

ती युवाले भने, ‘लिङ्देन आफैं राम थापा हत्या प्रकरणमा झापामा ज्यान मुद्दाको अभियोगमा हिरासत बसेका, मुद्दा खेपेका व्यक्ति हुन् । लिङ्देन आफैंले देशको कानून र पार्टी विधानविरुद्ध अमेरिकी नागरिक प्रेम श्रष्ठलाई केन्दीय सदस्य बनाएका छन् । पार्टीको नीतिविरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण गर्न लिङ्देनले प्रचण्डको उपप्रधानमन्त्री खाए भने पद बचाउन जनयुद्ध दिवस स्वीकार गरे । अनि हामी युवालाई आदर्शको पाठ पढाउनु हुन्छ जो हास्यास्पद छ ।’

अधिवेशनको खुला सत्रमा सहभागी हुन सबैलाई छुट हुन्छ । निर्वाचन समितिले युवा अधिवशेनको आधिकारिक सूची प्रकाशन गरेको थिएन, त्यही सूची प्रकाशन गर्न युवाहरूले माग गरेका थिए । त्यहीँ विवाद देखिएको थियो ।

‘वैधानिक प्रतिनिधि को हुन् र हैनन् भन्ने टुंगो नलाग्दै अध्यक्षले बाहिरका आयातित भन्दै एकतर्फी आक्षेप लगाउनु, एक पक्षमा उभिनु, गुटबन्दी गर्नु दुभाग्र्य हो । सुधार गृह भनेको अभिशाप हो र ? दुर्व्यसनीविरुद्ध अभियन्ता बन्नु गल्ती हो र ? पार्टी अध्यक्षले यस्तो केटाकेटी कुरा गर्न सुहाउँदैन,’ काठमाडौं जिल्ला अधिवेशनमा सहभागी एक युवाले आक्रोश पोखे ।

Published : Sunday, 2025 August 17, 12:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया