श्रीकृष्ण जन्माष्टमीको मेलामा झडप, ३ घाइत, ३ जना पक्राउ

गौर । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ९ धरहरीस्थित श्रीराम जानकी ब्रह्माबाबा मठमा आयोजित श्रीकृष्ण जन्माष्टमी मेला उद्घाटन गर्ने विषयमा विवाद भएको छ ।

शनिबार उद्घाटनको विषयमा दुई पक्षबीच झडप हुँदा मेयरसहित तीनजना घाइते भएका छन् । झडपपछि केही समय मेला क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले स्थितिलाई तत्काल नियन्त्रणमा लिएको जनाएको छ ।

मेलामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह र स्थानीय रामविनोद साह पक्षबीच विवाद उत्पन्न भएपछि झडप भएको हो । मेयर साह उद्घाटन गर्न मठ परिसर पुगेपछि रामविनोद साह समूहले विरोध गरेको थियो । उद्घाटन हुन नदिने अडान लिएपछि दुवै पक्षबीच भनाभन भएको थियो । दुबै समूहबीच हात हालाहालको अवस्था आएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रण गर्ने क्रममा मेयर साहसँगै इलाका प्रहरी कार्यालय, देवाही, गोनाहीका प्रहरी जवान धनसुन्दर ठाकुर र जगदीश यादव घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले जानकारी दिएका छन् । घाइतेहरूको गरुडामा रहेको बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आरोपमा रामविनोद साह, उनका १६ वर्षीय छोरा ऋतिक साह र भाइ राधामोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Published : Saturday, 2025 August 16, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया