कांग्रेसद्वारा नवप्रवेशी देवेन्द्रको पार्टी सदस्यता खारेज

काठमाडौं । नेपाली कांग्रेसले नवप्रवेशी महोत्तरीका देवेन्द्र यादवको पार्टी सदस्यता खारेज गरिदिएको छ ।

शुक्रबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरेर यादवको पार्टी सदस्यता खारेज गरिएको बताएका छन् ।

‘हिजो बिहीबार विहान ०९ः४५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको केन्द्रीय कार्यालयमा सभापतिको कार्यकक्षमा समसामयिक राजनीतिक विषयका सन्दर्भमा छलफल गरिरहेका बेला पार्टीका केही साथीहरूले महोत्तरीका देवेन्द्र यादवलाई लिएर कार्यकक्षभित्र प्रवेश गरी पार्टी सदस्यता प्रदान गर्न आग्रह गरे बमोजिम नेपाली कांग्रेसका सभापतिले निजलाई सदस्यता प्रदान गर्नु भएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

‘तर बुझिदैं गर्दा निज व्यक्ति उपर फौजदारी कानूनी कार्वाही प्रकृया रहेको भन्ने थाहा हुन आएको हुँदा निजले प्राप्त गरेको पार्टी सदस्यता खारेज गरिएको जानकारी गराइन्छ,’ कांग्रेसले भनेको छ ।

‘साथै, कानूनी कारवाहीको प्रकृया सन्दर्भमा गृह प्रशासनको समेत ध्यानाकर्षण गराइएको छ,’ कांग्रेसले भनेको छ, ‘निजलाई पार्टी प्रवेश गराउन ल्याउनु हुने साथीहरूसँग यसबारे गम्भीरतापूर्वक जानकारी लिइँदै गरेको समेत जानकारी गराइन्छ ।’

Published : Friday, 2025 August 15, 5:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया