रवि निकटका आपराधिक पृष्ठभूमिका रास्वपा नेता थापा अमेरिकाबाट डिपोर्ट
काठमाडौं । आपराधिक गतिविधिका कारण विवादमा आइरने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य मोहनबहादुर थापा अमेरिकाबाट देश निकाला (डिपोर्ट) भएका छन् ।
थापालाई केही दिनअघि अमेरिकाले डिपोर्ट गरेको हो । थापालाई साउन २२ गते अमेरिकी अध्यागमनले डिपोर्ट गरेको जनाएको छ ।
सहकारी ठगी र संगठित अपराधमा पुर्पक्षका लागि जेलमा रहेका रास्वपाका सभापति रवि लामिछानेका विश्वासपात्र थापालाई गत फागुनमा अमेरिकी अध्यागमनले हिरासतमा राखेको थियो । अमेरिकामा थापा फ्रडका मामिलामा मुछिएका थिए ।
रास्वपा सभापति लामिछाने अमेरिकामा हुँदा नै थापाको लामिछानेसँग राम्रो सम्बन्ध थियो । रास्वपा गठन हुँदा थापा पनि नेपाल आएर केन्द्रीय सदस्य बनेका थिए ।
थापाले सात महिनाअघि नै राजीनामा दिएको रास्वपाका प्रवक्ता मनीष झाले दाबी गरेका छन् । रास्वपाको केन्द्रीय समितिबाट राजीनामा दिए पनि निर्वाचन आयोगको रास्वपाको अभिलेखबाट भने थापाको नाम हटेको छैन । आयोगले पछिल्लो पटक अद्यावधिक गरेको सूचीमा थापाको नाम छ ।
अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन (आईसीई)को हिरासतमा करिब पाँच महिना रहेका थापा २०८२ साउन २२ गते राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका थिए । २०२५ मार्च ११ मा अमेरिकाको पेन्सिलभेनियया पुगेका थापा विमानस्थलमा समातिएका थिए ।
थापालाई पक्राउ गरी नेपाल डिपोर्ट गरिदिन अमेरिकी सरकारले १९ गते आदेश दिएको थियो । सोही अनुसार उनी डिपोर्ट भएका हुन् ।
अमेरिकाबाट डिपोर्ट भएर नेपाल फर्काइएका उनलाई अध्यागमन विभागले आवश्यक प्रक्रिया पूरा गरेर थप अनुसन्धानका लागि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाएको थियो । ब्यूरोले थापालाई आवश्यक जानकारी सम्बन्धी फारम भर्न लगाएर नियन्त्रण मुक्त गरिसकेको छ ।
ढाकाकुमार श्रेष्ठलाई मन्त्री बनाउन सभापति लामिछानेको कोर टिमका सदस्यले पैसा मागेको विवादमा थापाको नाम पोलिएको थियो ।
नेपालमा म्याग्दीका थापा अमेरिकाको बाल्टिमोरमा बस्दै आएका थिए । थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । थापा अधिकांश मुद्दामा दोषी ठहर समेत भएका छन् ।
थापा फर्जी लाइसेन्स र परिचय पत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल समेत परेका थिए । अमेरिकामा थापाविरुद्ध सन् १९९९ देखि २०२२ सम्म ५० बढी मुद्दा चलेका तथ्य सार्वजनिक रेकर्डमा छ । तीमध्ये अझैँ ६ वटा मुद्दा चलिरहेका छन् ।
यस्तो आपराधिक पृष्ठभूमि भए पनि पार्टी सभापति लामिछानेको प्रिय भएकाले उनी राजनीति सुधार्ने भन्दै खुलेको रास्वपाको केन्द्रीय सदस्य भएका थिए ।
थापासँगै सरकारी कागजपत्र कीर्तेमा जिल्ला अदालतमा मुद्दा चलाइएकी ज्वाला संग्रौला पनि रास्वपाको केन्द्रीय सदस्य मनोनीत भएकी थिइन् । ज्वाला अहिले पनि रास्वपाको केन्द्रीय सदस्य पदमा कार्यरत छिन् । लामिछानेकी पत्नी निकिता पौडेलको नारी टेलिभिजनमा ज्वालाले काम गर्दै आएकी छिन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया