डिजिटल प्लेटफर्मको सकारात्मक पक्ष हुँदाहुँदै कतिपय नकारात्मक असर छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘अब हामी सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको छ ।’

उनले भने, ‘डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिएको छ, समयको बचत गरेको छ, स्रोतमा पहुँच पु¥याएको छ र अझ भनौं विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको छ ।’

डिजिटल प्लेटफर्मको सकारात्मक पक्ष हुँदाहुँदै पनि कतिपय कुराहरूमा यसले नकारात्मक असर पनि पुर्‍याएको सभापति देउवाले बताएका छन् । ‘नागरिकलाई सचेत बनाउँदै प्रविधिको भरपर्दो र सुरक्षित उपयोग गर्नका लागि यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले सहयोग पुर्‍याउनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने ।

‘डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक छ,’ सभापति देउवाले भने ।

उनले यस प्रकारको अन्तरक्रियात्मक कार्यक्रमले सबैलाई सचेत बनाउने र ठोस नीति निर्माणमा मार्गदर्शन गर्नेछ भन्ने आफूले आशा व्यक्त गरेको बताएका छन् ।

‘यो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्नु भएकोमा विभागका प्रमुख मीनबहादुर विश्वकर्माजी, विभागीय सदस्यहरू, विज्ञहरू र यहाँ उपस्थित सबै सहभागीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ देउवाले भने ।

‘आजको युग विज्ञान र प्रविधिको युग हो । हामी अहिलेको युगलाई डिजिटल युग भन्छौँ,’ देउवाले भने, ‘मोबाइल, इन्टरनेट, कम्प्युटर र सामाजिक सञ्जालको माध्यमबाट हरेक दिन करोडौँ मानिसहरू डिजिटल प्लेटफर्महरूमा जोडिएका छन् ।’

‘डिजिटल प्लेटफर्महरू शिक्षा, स्वास्थ्य, बैंकिङ, हवाई, सरकारी सेवा लगायतका विभिन्न क्षेत्रमा प्रयोग भइरहेका छन्,’ उनले भने, ‘हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी तथा सार्वजनिक सेवा प्रवाहमा जिम्मेवार र प्रभावकारी रूपमा गर्न आवश्यक छ ।’

उनले भने, ‘सूचना प्रविधिले जनतालाई छिटो, सजिलो र पारदर्शी ढंगले सेवा दिन उल्लेखनीय भूमिका खेलिरहेको छ । घर–घरमा इन्टरनेटको पहुँच, मोबाइल बैंकिङ, अनलाइन फाराम, डिजिटल स्वास्थ्य सेवा तथा डिजिटल शिक्षा— यी सबै प्रविधिमैत्री योजनाहरूले जनताको जीवनशैली सरल, समावेशी र सम्मानजनक बनाउँदै लगेका छन् ।’

‘नेपाली कांग्रेस नेतृत्वको सरकारको अग्रसरतामा जारी भएका दूरसञ्चार सम्बन्धी नीति, ऐन र नियमहरूले आज नेपालका टाढाका बस्तीहरू र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याएको छ,’ देउवाले भने, ‘यसका अतिरिक्त प्रविधिको क्षेत्रमा धेरै कामहरू अझै गर्न बाँकी नै छन् ।’

उनले भने, ‘हामी सबैले यसको सकारात्मक प्रयोग गरेर व्यक्तिगत, सामाजिक र राष्ट्रिय विकासमा टेवा पुर्‍याउन सक्छौँ । सचेत, जिम्मेवार र नैतिक प्रयोग नै डिजिटल भविष्यको आधार हो ।’

‘हाम्रो पार्टी, नेपाली कांग्रेस, सधैं नवप्रवर्तन र प्रविधि मार्फत सामाजिक रूपान्तरणको पक्षमा उभिँदै आएको छ,’ सभापति देउवाले भने, ‘नेपाली कांग्रेसले डिजिटल प्लेटफर्मलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्‍याई विशेष गरी युवा, विद्यार्थी, उद्यमी, किसान, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सृजनशीलता प्रवर्द्धन गर्न उपयोग गर्ने र जनतालाई केन्द्रमा राखेर उपलब्धि केन्द्रित प्रविधि नीति बनाउने पक्षमा छौं ।’

कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा.प्रकाशशरण महत, सहमहामन्त्रीद्वय महेन्द्र यादव र महालक्ष्मी उपाध्याय, कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरू मीनबहादुर विश्वकर्मा, कल्याण गुरुङ, सुजाता परियार, पूर्व केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी लगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2025 August 14, 12:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया