सहायक सीडीओलाई कैलाली घटना अनुसन्धान गर्ने जिम्मेवारी
धनगढी । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) किरण जोशीको संयोजकत्वमा एकजनाको ज्यान जाने गरी कैलाली कारागारमा भएको घटनाको छानबिन गर्न छानबिन समिति बनेको छ ।
शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरी बल नेपालका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी रहेका छन् ।
समितिले कैलाली कारागारको घटनाबारे सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश राखिएको छ ।
कारागारमा कैदीबन्दीबीच शुक्रबार राति भएको झडपमा घाइते धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको उपचारका क्रममा शनिबार मृत्यु भएको थियो ।
घटनामा घाइते भएका ४४ कैदीबन्दीको सेती प्रादेशिक अस्पताल नजिकै कोरानाकालमा निर्माण गरिएको अस्पतालमा उपचार भइरहेको छ । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।
यसअघि, बिहीबार राति उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाइ गरेपछि अवस्था सामान्य बनेको थियो ।
कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनः शुक्रबार राति कैदीबीच आपसमा ढुङ्गामुढा हानाहान भएको बताए । गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो ।
कैदीबन्दीको सरुवाबारे मतऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । १५० जना क्षमताको कैलाली कारागारमा हाल ६८० जना रहेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया