कांग्रेसको सर्वसम्मत सभापति बन्ने गगनको योजना चक्नाचुर, खड्गीसँग भिडन्त, बार्गेनिङपछि राठौर मैदान छाडेर हिँडे

काठमाडौं । तथाकथित विशेष महाधिवेशन पक्षधरहरूको नेपाली कांग्रेसको सर्वसम्मत सभापति बन्ने गगनकुमार थापाको योजना तुहिएको छ ।

बुधबार राति नेपाली कांग्रेस केन्द्रीय निर्वाचिन समितिले प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावलीमा सभापति पदमा थापासँग श्यामकृष्ण खड्गीले प्रतिस्पर्धा गर्ने उल्लेख छ । सभापतिमा सर्वसम्मत बन्न थापाले ठूलो प्रयास गरेका थिए । सभापतिमा मनोनयन दर्ता गराएका खड्गीले अन्तिम समयसम्म पनि उम्मेदवारी फिर्ता नलिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा हुनेछ ।

थापाले खड्गीलाई पटक पटक सभापति पदबाट उम्मेदवारी फिर्ता लिन दवाव र विभिन्न प्रलोभनहरू दिएका थिए । तर, खड्गीले एक मात्रै भोट आए पनि सभापति पदको उम्मेदवारी फिर्ता नलिने अडान लिएका लिएपछि निर्वाचन समितिले बाध्य भएर बुधबार राति उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गर्न पुगेको छ ।

यसअघि, सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका थिए । थापाको विभिन्न प्रलोभनहरूमा परेर राठौरले उम्मेदवारी फिर्ता लिएका हुन् । सार्वजनिक अभिव्यक्तिहरू दिँदै राठौरले कुनै पनि हालतमा सभापति पदको उम्मेदवारी फिर्ता नलिने र थापासँग प्रतिस्पर्धा गरेरै छाड्ने जनाएका थिए ।

थापाको प्रलोभनमा परेर राठौरले सभापति पदबाट उम्मेदवारी फिर्ता लिएर सबैलाई चुकित तुल्याइदिएका छन् । राठौरले सभापति पदबाट उम्मेदवारी फिर्ता लिन थापासँग के के कुरामा बार्गेनिङ गरेका छन् समयले बताउनेछ ।

भृकुटीमण्डपमा तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेसलाई हाइज्याक गरेर थापाले आफूलाई सभापति घोषणा गरेका थिए । कांग्रेसको आधिकारिकताको मुद्दा सर्वोच्च अदालतमा बिचाराधीन रहेका बेला थापाले कांग्रेसको १५औँ महाधिवेशन गरेका छन् ।

वीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिका छोराहरू थापाको यो महाधिवेशनभन्दा बाहिर छन् । शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, डा.शेखर कोइरालासहितका शीर्ष नेताहरू थापाको महाधिवेशनभन्दा बाहिरै छन् । उनीहरू निकटका केही नेताहरू महाधिवेशनमा भाग लिए पनि ठूलो पंक्ति थापाको गतिविधिभन्दा बाहिरै बसेको छ ।

Published : Wednesday, 2026 October 7, 11:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया