विशेष महाधिवेशन बोलाउनेहरूका कारण कांग्रेस विभाजित भयो : नेता निधि

जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको बताएका छन् ।

नेपाली कांग्रेस १५औँ नियमित महाधिवेशन अन्तर्गत जनकपुरमा आयोजित कार्यक्रममा नेता निधिले तथाकथित विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको बताए । उनले अब नयाँ घर निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको बताए ।

नेता निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाए । लोकतन्त्र केवल सिद्धान्त मात्र नभएर प्रक्रिया र पद्धति पनि भएको स्मरण गराउँदै उनले बहुमतका आधारमा मात्रै पार्टी नचल्ने बताएका छन् ।

निर्वाचन आयोगमा पेस गरिएको तथ्याङ्क अनुसार आफूहरूसँग ४६ प्रतिशतको बलियो आधार रहेको बताएका छन् । उनले उक्त मतलाई बेवास्ता गरेर गरिएका निर्णयहरू अमान्य हुने बताए ।

विशेष महाधिवेशन र त्यसपछिका घटनाक्रमले पार्टीलाई जोड्न नसक्ने भएकाले नयाँ ढङ्गले साङ्गठनिक यात्रा तय गर्नुपर्ने उनले बताए । ‘विशेष महाधिवेशन बोलाउनेले नै पार्टी फुटाएको हो,’ निधिले भने, ‘हामीले सुरुदेखि नै प्रक्रियाको कुरा उठाउँदा बेवास्ता गरियो । पुराना पुस्ताका नेताहरू अझै जिम्मेवारी पूरा गर्दै हुनुहुन्छ, त्यसैले हामीले मिहिनेतका साथ नयाँ कार्यदिशा तय गर्नुपर्छ ।’

‘गिरिजाबाबु र शेरबहादुरजी मिल्न तीन वर्ष लागेजस्तै परिस्थिति कहिले कस्तो हुन्छ भन्न सकिन्न । तर, अहिले आफ्नो घरलाई अझ मजबुत बनाउनु र सङ्गठन निर्माण गर्नु नै हाम्रो प्राथमिकता हो,’ नेता निधिले भने ।

आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै निधिले कार्यकर्ताहरूलाई वडा तहबाटै नयाँ ऊर्जाका साथ खटिन निर्देशन दिएका छन् ।

युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका नेता निधिले आफू वैचारिक रूपमा अझै सक्रिय रहेको र पार्टी पुनर्निर्माणका लागि प्रतिबद्ध रहेको बताए ।

पञ्चायत कालको उदाहरण दिँदै सङ्गठन बलियो भए जुनसुकै अवरोध पार गर्न सकिने भएकाले निराश नहुन उनले कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

Published : Thursday, 2026 October 8, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया