पूर्वराज्यमन्त्री बस्यालको निधनप्रति सभापति देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल दलित संघका पूर्व अध्यक्ष खड्गबहादुर बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार शोक वक्तव्य जारी गरेर देउवाले पूर्वराज्यमन्त्री समेत रहेका संविधान सभाका सदस्य बस्यालको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । देउवाले भने, ‘नेपाल दलित संघका पूर्व अध्यक्ष, पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभा सदस्य खड्गबहादुर बस्यालको निधनको खबरले मलाई अत्यन्त दुखित् र मर्माहत बनाएको छ ।’

‘स्व.खड्गबहादुर बस्यालले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ देउवाले भने, ‘उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।’

नेपाल दलित संघका पूर्व अध्यक्ष, पूर्व स्वास्थ्य राज्यमन्त्री, संविधान सभा २०६४ र २०७० का सदस्य, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका पूर्व उपसभापति तथा नेपाल प्रजातन्त्र सेनानी संघका केन्द्रीय सदस्य बस्यालको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ तातापानीस्थित आफ्नै निवासमा शुक्रबार बिहान ८ः५० बजे निधन भएको कांग्रेसले जनाएको छ । बस्याल क्यान्सरबाट पीडित रहेका थिए ।

विक्रम संवत् २००८ माघ १५ गते जन्मिएका स्व.खड्गबहादुर बस्यालले नेपाली कांग्रेस र भ्रातृ संस्थाका विभिन्न पदीय जिम्मेवारीमा रहेर संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

खड्गबहादुर बस्यालको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको कांग्रेसको शोक वक्तव्यमा उल्लेख छ ।

Published : Friday, 2025 August 8, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया