गुन्डा नाइके चक्रे मिलनलाई साथ दिने टोले गुन्डाहरू को को ? बोगटी बडीगार्ड

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्यमा संलग्न गुन्डा नाइके चक्रे मिलन भन्ने मिलन गुरुङसहित १९ जनाविरुद्ध अनुसन्धान अगाडि बढाएको छ ।

गोरखा जिल्लाको सिरान चोक गाउँपालिका वडा नं. ५ छोप्राक स्थायी घर बताउने ५४ वर्षीय चक्रे मिलनलाई पक्राउ गरिएको एसपी कुलदीप चन्दले बताएका छन् । चक्रे मिलनको समूहले बिहीबार मध्य रातिसम्म महाराजगञ्जमा रहेका शम्बाला होटलमा होहल्ला गर्नुका साथै शान्ति सुरक्षामा खलल पुर्‍याउने कार्य गरेको थियो । चक्रे मिलन र उनको समूहले सार्वजनिक स्थानहरूमा गाडी राखेर आवागमनमा अबरोध गर्ने, हातहतियारसहित प्रदर्शन गर्ने जस्ता कार्यहरू गर्दै आएको समाजिक सञ्जामा भिडियोहरू देख्न पाइन्छ ।

घरेलु हातहतियार बोकी सार्जजनिक स्थलहरूमा समूह बनाएर होहल्ला गर्दै समाजमा शान्ति सुरक्षा बिथोल्ने तथा सार्वजनिक आवागमन अवरोध हुने गरी आम नागरिकमा त्रास उत्पन्न गराउने खालका अबाञ्छित क्रियाकलापमा संलग्न रहेको आरोप प्रहरीले चक्रे मिलन र उनको समूहलाई लगाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौं र काठमाडौं उपत्यका अराध अनुसन्धान कार्यालय, टेकुको संयुक्त टोलीले १९ जनालाई बिहीबार राति नियन्त्रणमा लिएको एसपी चन्दले बताए ।

पक्राउ पर्नेहरूमा बाँकेको बैजनाथ गाउँपालिका वडा नं. २ स्थायी घर बताउने वर्ष ४७ का गणेशबहादुर बोगटी छन् । पक्राउ परेका बोगटी एक वर्ष अगाडि नेपालगञ्जमा चक्रे मिलनको सुरक्षा दिने भन्दै बन्दुक बोकेर हिँडेका थिए । चक्रे मिलनको सुरक्षामा खटिएका बोगटीले एके ४७ बन्दुक बोकेको देखिएपछि आलोचना भएको थियो । बाँकेका तत्कालीन एसपी सन्तोषसिंह राठौरले अत्याधुनिक हतियार सहित सुरक्षा गार्ड लिएर हिँडेका चक्रे मिलनलाई पक्राउ गर्न सकेका थिएनन् । चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटीलाई भने तत्कालीन समयमा पक्राउ गरिएको थियो । बोगटी बेलाबेला अपराधका काण्डहरूमा पक्राउ पर्ने गरेका छन् । बोगटी फेरि पनि चक्रे मिलनसँगै पक्राउ परेका छन् । चक्रे मिलनले गणेशबहादुर बोगटीलाई आफ्नो बडीगार्ड बनाउँदै आएका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ३ वसुन्धरा बस्ने वर्ष ४० को निराजन पौडेल, कोटेश्वर बस्ने वर्ष ३३ का राजेश खड्का, काठमाडौं हात्तीगौडा बस्ने वर्ष ३० का सन्दीप केसी, भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं.१२ स्थायी घर बताउने वर्ष ३४ का राहुल खड्का, चितवनको रत्ननगर नगरपालिका वडा नं. १ घर बताउने वर्ष ३३ का यामु पौडेल, ललितपुर महानगरपालिका वडा नं. १४ सातदोबाटो बस्ने वर्ष ३७ का सौरभ सुनार, नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १४ घर बताउने वर्ष २९ डिल्लीराज कँडेल रहेका छन् ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं. ४ घर बताउने वर्ष २५ को ऋतिक लामा, काठमाडौं महानगरपालिका वडा नं. ११ घर बताउने वर्ष ५८ का जितबहादुर लामा, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ५ स्थायी घर बताउने वर्ष ३२ का प्रकाश गोले, ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं.६ मुलखर्क स्थायी घर बताउने वर्ष २९का अमिर आले मगर, ललितपुर महानगरपालिका वडा नं. १६ घर बताउने वर्ष ४४ का उत्तम महर्जन, सुनसरीको ईटहरी उपमहानगरपालिका वडा नं. ८ स्थायी घर बताउने वर्ष ३२ का प्रनिश कटेल, स्याङजाको फेदीखोला गाउँपालिका वडा नं. ९ स्थायी घर बताउने राजु परियार र स्याङजाको चापाकोट नगरपालिका वडा नं. ५ स्थायी घर बताउने वर्ष २० का सफल शाही रहेको एसपी चन्दले बताएका छन् ।

पक्राउ परेका व्यक्तिहरूबाट बागमती एबीसी नम्बरको गाडी, जोखिमी घरेलु हातहतियार थान २, कालो विड भएको फलाम फोल्डिङ स्टिक थान २, ईम्पावर लेखिएको सिरिकन कम्पनीको स्प्रेको बट्टा थान १ र सवारी दर्ता किताब दर्ता थान १ प्रहरीले नियन्त्रणमा लिएको एसपी चन्दले बताएका छन् ।

पक्राउ परेका चक्रे मिलनसहितको १९ जनाको समूहलाई प्रहरीले म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा शुक्रबार पेश गरेको छ । जिल्ला प्रशासन कार्यालयले चक्रे मिलन र उनको १९ जनाको समूहलाई सात दिनको म्याद थप गरेको छ । अभद्र व्यवहार गर्न नहुने कसूरमा अनुसन्धान अगाडि बढेको छ ।

चक्रे मिलनको समूहले नदीको गिट्टी, ढुङ्गा, बालुवामा जबरजस्ती कब्जा गरेर अबैध असुली गर्ने, ठेकेदारहरूसँग रकम असुली गर्ने लगायतका कार्य गर्दै आएको आरोप छ । एमाले समर्थक चक्रे मिलनलाई एमालेका नेताहरूले संरक्षण गर्दै आएका छन् ।

काठमाडौंको महाराजगञ्ज क्षेत्रमा चक्रे मिलनले आफ्नो गुन्डा राज सञ्चालन गर्दै आएका छन् । दाङ र बाँकेमा पनि राप्ती नदीमा आफ्ना धुपौरे टोले गुण्डाहरूलाई परिचालन गरेर अबैध उठ्तीपुठ्ती गर्दै आएका छन् ।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौंभरि अपरेशन जारी रहेको बताएका छन् । उनले भने, ‘गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौंमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजी–खोजी कारबाहीको दायरामा ल्याइँदै छ ।’

अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौंको महराजगञ्जस्थित होटेल शाम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसूरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको एसएसपी अधिकारीले बताए ।

अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको एसएसपी अधिकारीले बताएका छन् । अधिकारीले भने, ‘१९ जनाविरुद्ध अन्य उजुरीहरू आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य के–के अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ । छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै छ ।’

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौंमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ ।

Published : Saturday, 2025 August 2, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया