संविधानमा समस्या छ, कांग्रेस एक भएको खण्डमा बहुमत आउन पनि सक्छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले कुनै एउटा पार्टीको मात्रै बहुमत आउन नसक्ने भन्दै एकताबद्ध हुने हो भने बहुमत आउन पनि सक्ने बताएका छन् ।
शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा थारु विभागले आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै देउवाले भने, ‘एउटा समस्या पनि छ । यो संविधानले कुनै पनि पार्टीको बहुमत आउँदैन ।’
‘कुनैन कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ । कुनै पनि पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुन्छ,’ सभापति देउवाले भने ।
‘तैपनि पार्टी एक भएको खण्डमा बहुमत आउन पनि सक्छ,’ देउवाले भने, ‘हामी सबै जातजाति, आदिवासी, जनजाति एक भएर हिँड्यौँ भने हाम्रो देश अगाडि बढ्न सक्छ ।’
‘हाम्रो देशमा कुनै पनि जातिको बहुमत छैन,’ देउवाले भने, ‘सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, हिमाल, पहाड, तराईका आदिवासी, जनजाति, थारु आदिवासीहरू, पहाडमा मगर, गुरुङ, शेर्पा लगायतका दाजुभाइहरू हुनुहुन्छ । अवध, मधेशमा पनि धेरै जातिहरू हुनुहुन्छ ।’
‘धेरै जातजातिको देश एकताबद्ध भएर अगाडि बढिरहेको छ,’ देउवाले भने, ‘संविधानले सबैलाई जोड्ने उदेश्यले जातजाति, धर्मलाई जोड्ने गर्छ ।’
‘महिलाहरू, दलित, जनजाति, आदिवासी सबैलाई संविधानले प्रतिनिधित्व दिएको छ,’ देउवाले भने, ‘समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ ।’
सभापति देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको पनि बताएका छन् । देउवाले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरूको उच्च सम्मान हुनुपर्ने बताए ।
जातको आधारमा नभइ समावेशी सोँच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको देउवाले बताएका छन् ।
उनले सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि बताएका छन् । देउवाले जातीय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने बताए ।
‘हामी सबै मिलेर पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता महशुस गरेका छौँ,’ देउवाले भने, ‘नेपाल विविधताले भरिएको देश हो । जहाँ सबै जातजाति भाषा सबैको उच्च सम्मान गरिनुपर्छ ।’
देउवाले भने, ‘जातको आधारमा होइन, समावेशी सोँच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक छ । नेतृत्व पनि यस्तो हुनुपर्दछ । जसले सबैलाई साथमा लिएर अघि बढ्न सकोस् ।’
‘जातीय संकीर्णताले समाज परिवर्तन गर्न सक्दैन । देशलाई अघि बढाउन सक्दैन,’ सभापति देउवाले भने, ‘यो देश सबैको हो । सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्दछ ।’ सभापति देउवाले सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका थारु विभागका प्रमुख योगेन्द्र चौधरी, कांग्रेसका उपसभापति धनराज गुरुङ, सहमहान्त्रीद्वय महालक्ष्मी उपाध्याय र भीष्मराज आङदम्बे, कोषाध्यक्ष उमेश श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, केन्द्रीय सदस्यहरू गोपामान श्रेष्ठ, मीनबहादुर विश्वकर्मा, उदयशम्शेर जबरा, कान्तिका सेजवाल लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया