सरकारी अधिकृत तिवारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोप अधिकृत सुमन तिवारीविरुद्ध भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।

शुक्रबार अख्तियारले तिवारीविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य निर्देशनालय, धनकुटाका खोप अधिकृत (हाल स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख) पदमा कार्यरत सुमन तिवारीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्ने अख्तियारमा उजुरी परेको थियो ।

उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा सुमनकुमार तिवारी एवम् सुमन तिवारी भन्ने सुमनप्रसाद तिवारीले खोप सुपरभाईजर राजपत्र अनंकित प्रथम श्रेणीको ओहदा पाउन बिहार इन्टरमिडियट शिक्षा परिषद, पटनाबाट जारी भएको आईए तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियारले जनाएको छ ।

तिवारीले नियुक्ति लिई माथिल्लो तहका विभिन्न पद र श्रेणीमा बढुवा पाउनसमेत पटक–पटक उल्लिखित प्रमाणपत्र पेस गरी बढुवा भई राष्ट्रसेवकको पद ओहदा, लाभ र सुविधासमेत प्राप्त गरिरहेको देखिएकोको अख्तियारले जनाएको छ ।

तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवम् प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2026 October 9, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया