रुपन्देही यातायातका हाकिम र ३ सईसहित ७ जनाविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध भ्रष्टाचार प्रकरणमा आरोपपत्र दायर गरेको छ ।

यातायात व्यवस्था कार्यालय, रूपन्देहीमा सवारी चालक अनुमतिपत्र एचआईजे (मेशिन) वर्गको वितरण गर्दा अनियमितता गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालत, काठमाडौंमा सात जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादव, तत्कालीन मेकानिकल सुपरभाइजर यादवप्रसाद अर्याल, तत्कालीन अधिकृतस्तर सातौं तुल्सीराम अधिकारी र तत्कालीन अधिकृतस्तर छैठौं राजीव अर्यालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १३ बमोजिमको कसूरमा सोही ऐनको दफा ९, दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजाय हुन उनीहरूविरुद्ध अख्तियारले मागदाबी गरेको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवल, रूपन्देहीका तत्कालीन प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे भन्ने डील्लीनारायण पाण्डेय, तत्कालीन प्रहरी निरीक्षक गणेश ज्ञवाली र तत्कालीन प्रहरी नायब निरीक्षक हुमानन्द खनालविरुद्ध पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको जनाएको छ । उनीहरूविरुद्ध पनि अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९, दफा ११ र दफा १३ बमोजिमको कसूरमा सोही ऐनको दफा ९, दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरिएको छ ।

‘उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख तेजनारायण यादवले अन्य प्रतिवादीहरूसँगको मिलेमतोमा बदनियत राखी लिखित र प्रयोगात्मक परीक्षामा सहभागी नभई वैदेशिक रोजगारीको सिलसिलामा जापानमा मिति २०७७/०८/२५ (सन् २०२०/१२/१०) मा गएको र मिति २०८३/०५/०८ सम्म नेपाल फर्केको नदेखिएका व्यक्तिलाई लिखित र प्रयोगात्मक परीक्षामा उत्तीर्ण गराई मिति २०७८/०७/१७ (सन् २०२१/११/०३) गते जे वान वर्गको सवारी चालक अनुमतिपत्र जारी गरे गराएको, लिखित परीक्षामा अनुत्तीर्ण भएता पनि परीक्षाफल संशोधनको अभिलेख खडा गरी लिखित नतिजामा उत्तीर्ण उल्लेख गरी प्रयोगात्मक परीक्षा गराएको जस्तो देखिने अभिलेख तयार गरी ३ (तीन) जनालाई जे वान वर्गको तथा ४ (चार) जनालाई जे टु वर्गको सवारी चालक अनुमतिपत्र जारी गरेको, प्रयोगात्मक परीक्षामा सहभागी गराएको झुट्टा अभिलेख तयार गरी लिखित परीक्षामा सहभागी नभएका ५ (पाँच) जनालाई जे वान वर्गको सवारी चालक अनुमतिपत्र जारी गरेको देखिएकोले यसरी वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका व्यक्तिसमेत जम्मा १३ (तेह्र) जनाको नाममा सवारी चालक अनुमतिपत्र जारी गरे गराएको पुष्टि भएकोले निज प्रतिवादीहरूले यातायात व्यवस्था कार्यालयको सरकारी निकायका कागजात अभिलेखमा अनाधिकार एवम् गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने र हेरफेर गरी गराई परीक्षाको परिणाममा फेरबदल गरे गराएको देखिँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरू उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई बिहीबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ,’ प्रवक्ता न्यौपानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2026 October 8, 3:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया