चन्द्रौटा–भालुबाङ सडकमा बस र ट्रक दुर्घटना, चालकको मृत्यु, ११ यात्रु घाइते

चन्द्रौटा । कपिलवस्तुको चोरखाला नजिकै पूर्वपश्चिम महेन्द्र राजमार्गमा बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने ११ जना घाइते भएका छन् ।

शुक्रबार भालुवाङ–चन्द्रौटा सडक खण्डको कपिलबस्तुको चोरखोला नजिक बस र ट्रक ठोकिँदा बस चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसमा सवार यात्रुहरू घाइते भएका छन् ।

कपिलवस्तु शिवराज नगरपालिका वडा नं. १ चोरखोलास्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ३३३३ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको लु २ ख २४७१ टिप्परलाई ओभरट्याग गर्ने क्रममा काठमाडौंदेखि बर्दियातर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ००९९ नम्बरको बससंग ट्रक ठक्कर खाएको प्रहरीले जनाएको छ । दुर्घटनामा बसका चालक बाँकेको खजुरा गाउँपालिका वडा नं. ५ बस्ने बर्ष ३४ को सुमन खत्रीको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय, चन्द्रौटाले जनाएको छ ।

ट्रक चालक मोरङको कानीपोखरी गाउँपालिका २ बस्ने बर्ष २४ को रुपेश धिमाललाई प्रहरी नियन्त्रणमा लिएको छ । प्रहरीले कपिलवस्तुको बुद्धभूमि नगरपालिका ९ बस्ने बर्ष ३१ को संजयकुमार चौधरीलाई पनि नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा घाइते हुनेहरूमा सिल्यानको सारदा नगरपालिका वडा नं. १५ बस्ने बर्ष ३५ कि पार्वती बोहोरा, बाँकेको नेपालगंज उपमहानगरपालिका २ बस्ने बर्ष १४ को सुसान्त श्रेष्ठ, दाङको राप्ती गाउँपालिका ३ बस्ने बर्ष ३४ को रिसमान थारु, बाँकेको गुलरी गाउँपालिका ६ बस्ने बर्ष २१ का बिष्णु थारु, मुगुको छयनाथ रारा नगरपालिका १२ बस्ने बर्ष १७ का अरुण बुढाथोकी, बाँकेको राप्तीसोनारी गाउँपालिका ६ बस्ने बर्ष १९ का सागर थारु, बाँकेको राप्तीसोनारी गाउँपालिका ८ बस्ने बर्ष ३० कि तिलकुमारी खत्री, दाङको तुलसीपुर उपमहानगरपालिका ९ बलुवा बस्ने बर्ष २१ कि सम्झना चुदारा रहेका छन् ।

जाजरकोटको छेडागार्ड गाउँपालिका ११ बस्ने बर्ष ४१ को दीपेन्द्र गिरी, बाँकेको खजुरा गाउँपालिका २ बस्ने बर्ष ४० को कृष्णबहादुर भण्डारी र बाँकेको कोहलपुर नगरपालिका ११ बस्ने बर्ष ४५ का गगन चुनारा पनि घाइते भएको प्रहरीले जनाएको छ ।

Published : Friday, 2026 October 2, 10:18 am

फेसबुकबाट तपाईको प्रतिक्रिया