देउवालाई भेट्न गगनले साइत हेर्नु पर्दैन, साइबर हमला र मिडिया ट्रायल बन्दा गर्दा नै हित होला
काठमाडौं । भृकुटीमण्डपबाट नेपाली कांग्रेस हाइज्याक भएको अवस्थामा पार्टीभित्र ठूलो विवाद छ ।
गगन थापाले तथाकथित विशेष महाविधेशनबाट कांग्रेसलाई हाइज्याक गरेर आफूलाई सभापति घोषणा गरे । सभापति घोषणा मात्रै गरेनन्, भावी प्रधानमन्त्रीको उम्मेदवार बनेर प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिए । निर्वाचनमा गगनको लज्जास्पद पराजय भयो । कांग्रेसलाई तहस नहस बनाएको भन्दै जनताले गगनलाई हराएर दण्ड दिइसकेका छन् । गगनलाई जनताले ठूलो सजाय दिए पनि कांग्रेसमा मेलमिलाप, सम्वाद, सहमति र सहकार्यको नीति लिनै चाहेका छैनन् । गगनले फण्डा गरिरहेका छन् । देउवा र नियमित महाधिवेशन पक्षधर नेताहरूमाथि निरन्तर प्रहार गरिरहेका छन् । देउवा पक्षले कांग्रेसप्रति राखेकै माया र सद्भावका कारण गत निर्वाचनमा देउवा पक्षका नेताहरू टिकट लिएर चुनावमा प्रतिस्पर्धा गर्न गएका हुन् । देउवालाई भाइहरूले धोका दिएका होइनन्, कांग्रेसलाई माया गरेका हुन् । होइन भने कांग्रेसको झन् सानो आकारमा रहने थियो ।
कांग्रेसमा बृहत एकताका लागि नियमित महाधिवेशन पक्षधर नेताहरू लागिरहेका छन् । बरु गगनले नै पार्टीमा बृहत एकता चाहँदैनन् । शेरबहादुर देउवालाई भेट्न पाइन भनेर मिडिया ट्रायल गरिरहेका छन् । कांग्रेसलाई हाइज्याक गरेर बसेका गगनले आफूलाई सर्वेसर्बा ठानेका छन् । आफ्नो पक्षमा माहोल बनाउन मिडिया ट्रायल गर्न सातिर खेलाडी गगनले फेरि देउवालाई भेट्न पाइन भनेर फण्डा गरिरहेका छन् । देउवालाई भेट्न गगनले साइत हेर्नु पर्दैन । सम्वाद, सहमति र सहकार्य गर्ने इच्छा तथा कांग्रेस बचाउने मन छभने देउवालाई भेट्न गगनले फण्डा गर्न आवश्यक नै छैन ।
गगनले झुण्ड पनि कति मिलाएर बोल्न जानेका छन ? भन्ने कुरा नेताद्वय डा.शेखर कोइराला र पूर्णबहादुर खड्काको भेटका विषयमा हेरे पुग्छ । डा.कोइरालालाई बालुवाटारमा भेटेका गगनले खड्कालाई कहाँ भेटेका हुन् ? जवाफ छ ? तर, मिडियामा दुई जना नेताहरूलाई भेटेको भनेर प्रचार गरे । मिडिया ट्रायल गरे ।
गगन जस्तो मिलाएर झुठ बोल्ने कला देउवामा छैन । देउवाले जे बोल्छन् त्यो गर्छन्, जे गर्छन् त्यो बोल्छन् । देउवालाई भेट्न पाइन भनेर मिडियाबाजी गरिरहेका गगनले देउवाको महामन्त्री बनेर लामो समय काम गरिसकेका छन् । देउवालाई भेट्न कति सहज र कति असहज छ ? भन्ने कुरा गगनलाई भन्दा अरुलाई धेरै थाहा छैन ।
देउवाले प्रत्येक दिन बिहान ९ बजेदेखि राति नसत्दासम्म आफूलाई भेट्न आउने नेता तथा कार्यकर्ता र शुभेच्छुकलाई स्वास्थ्यले साथ दिएसम्म भेट्दै आएका छन् । भेट्न आउने शुभेच्छुकहरूका लागि देउवाको ढोका सधै खुला छ ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले गगनलाई देउवासँग भेट गराइदिने बचन दिइसकेका छन् । देउवाविरुद्ध मिडियाबाजी गरेर गगनको उचाइँ केही समयका लागि बढ्ला, व्यक्तिगत फाइदा पनि होला । तर, गगनले गरिरहेको हर्कत र गतिविधिले कांग्रेसलाई मात्रै होइन राष्ट्रलाई समेत क्षति पुगिरहेको छ । तथाकथित विशेष महाधिवेशन र त्यसको जगमा गगन सर्वसम्मत सभापति त बन्लान् उनलाई जीवनभरि बेचैनी हुनेछ ।
देउवा जस्तो सालिन, भद्र र सबैको सम्मान गर्ने विश्वासिलो नेतालाई गगन र उनको साइबर सेनाबाट भइरहेको हमलाले कांग्रेसलाई क्षति गरेको छ । कांग्रेसप्रति माया र मोह भएकै कारण देउवाले बारम्बार न्यायलयको ढोका ढकढकाइरहेका छन् । त्यही विश्वासको आडमा देउवाले निस्सा पाएका छन् । देउवा कांग्रेस छोड्न चाहँदैनन् । नयाँ पार्टी पनि बनाउन चाहँदैनन् । देउवाको यही कमजोरीमाथि गगनले निरन्तर प्रहार गरिरहेका छन् । गगनले नै पार्टी विभाजनको गतिविधि गरिरहेका छन् । बाध्य बनाएर नियमित महाधिवेशन पक्षधर नेताहरूलाई कांग्रेसभन्दा बाहिर राख्न गगनले हर्कत गरिरहेका छन् ।
गत भदौ २३ गतेसम्म देउवासँग गगनको कुन तहको सम्बन्ध थियो ? केन्द्रीय नेताहरू सबैलाई थाहा छ । गगनलाई अचानक दीव्य शक्ति कहाँबाट आयो ? र, निर्वाचनको मुखमा तथाकथित विशेष महाधिवेशन गरेर आफैलाई सभापति र भावी प्रधानमन्त्री किन घोषणा गरे ? प्रश्न अहिले पनि छ । गगनलाई नियमित १५औँ महाधिवेशनमा सभापतिमा कसैले पनि रोक्न वा हराउन सक्ने सम्भावना नै थिएन । सग्लो र एकढिक्का भएको कांग्रेसको सभापति हुने अवसरबाट गगन चुकेका छन् । तैपनि मिडिया ट्रायल र फण्डा गर्न छाडेका छैनन् ।
देउवालाई गुमाउनुपर्ने केही छैन । सबै गुमाइसकेका छन् । तर देउवाले आफूलाई साथ दिएका नेता तथा कार्यकर्ताका लागि ज्यान दिन पनि तयार छन् । देउवाले अब सक्रिय राजनीति पनि गर्ने छैनन् । उनको वक्तव्यबाटै त्यसको घोषणा गरिसकेका छन् । १४औँ महाधिवेशनका नेता तथा कार्यकर्ताहरूको राजनीतिक भविष्यका लागि देउवाले कानूनी लडाइँ लडेका छन् । त्यो लड्नु पनि पर्छ ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया