जसपाद्वारा ४ सांसदलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन, २ मन्त्री पनि निस्कासित
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको नीति, सिद्धान्त, विधान, निर्णय तथा निर्देशनविपरीत गतिविधि गरेको आरोपमा लुम्बिनी प्रदेशसभाका चार जना सदस्य (सांसद)हरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।
जसपाद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिअनुसार निष्कासनमा पर्नेमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट निर्वाचित सन्तोषकुमार पाण्डेय, समानुपातिकतर्फबाट निर्वाचित हेमा वेल्वासे के.सी., बाँके निर्वाचन क्षेत्र नम्बर २ (१) बाट निर्वाचित भण्डारीलाल अहिर र बाँके निर्वाचन क्षेत्र नम्बर २ (२) बाट निर्वाचित आदेशकुमार अग्रवाल रहेका छन् ।
उनीहरूले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गर्नुका साथै सरकारमा समेत सहभागी भएको विषयमा कारबाही गरिएको जसपाले जनाएको छ ।
जसपाको साधारण सदस्यता समेत नरहने गरी कारबाहीमा परेका सन्तोषकुमार पाण्डेय लुम्बिनी प्रदेश सरकारमा शहरी विकास, ऊर्जा, सिंचाइ तथा खानेपानीमन्त्री छन् । भण्डारीलाल अहिर आन्तरिक मामिला, कानून, उद्योग तथा यातायातमन्त्री छन् ।
भदौ १६ देखि १८ गतेसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सिरहा, पर्सा, खोटाङ, भोजपुर, उदयपुर, इलाम र सुनसरीलगायत जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि तथा विभिन्न तहका कार्यकर्तामाथि पनि अनुशासनसम्बन्धी कारबाही गर्दै पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको छ ।
जसपाले अग्रगामी मोर्चाको गठनलाई सर्वसम्मतिले स्वागत र समर्थन गरेको छ । मोर्चाले घोषणा गर्ने सम्पूर्ण कार्यक्रमलाई प्रभावकारी रूपमा सफल बनाउन पार्टीका सम्पूर्ण पंक्तिले सक्रिय सहभागिता जनाउने निर्णय पनि गरिएको छ ।
पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ता अभिमुखीकरणका लागि जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णयसमेत गरिएको पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई फुटको डिलमा पुर्याउने दम्भ बोकेका गगनलाई अपील
यामबहादुर मल्ल

फेसबुकबाट तपाईको प्रतिक्रिया