तहगत समन्वयको अभावका साथै उद्दार, राहत पुनःस्थापना प्रभावकारी भएन, संसद बैठक राखौँ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले उद्धार र राहत वितरणमा तहगत समन्वयको अभाव देखिएको जनाएको छ ।

सोमबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले गरेको उद्दार, राहत पुनःस्थापना व्यवस्थित र प्रभावकारी नभएको निर्णय गरेको छ । बैठकपछि प्रमुख सचेतक बासना थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलका नेता माननीय भीष्मराज आङदेम्बेज्यूले बाढी प्रभावित क्षेत्रहरूमा पुगेर जानकारी लिनु हुँदा तहगत समन्वयको अभाव देखिएको, उद्दार राहत पुनःस्थापना व्यवस्थित र प्रभावकारी नभएको भन्ने पिडीत स्थानीयको गुनासो रहेको हुँदा यस सम्बन्धमा समन्यायिक ढङ्गले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारसँगको समन्वयात्मक रुपमा कार्य गर्न सरकारलाई यो बैठक आग्रह गर्दछ ।’

कांग्रेसले बाढी लगायतका विषयमा छलफल गर्न प्रतिनिधि सभाको बैठक बोलाउन माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘देश विषम परिस्थितिमा गुज्रीरहेको अवस्था सदनमा प्रभावित जिल्लाका विद्यमान समस्याहरूका बारेमा गहन छलफल गर्ने र उद्धार, राहत तथा पुनःस्थापनाबारे एकीकृत रुपमा सुझाव सहित ध्यानाकर्ण गराउन सदन सुचारु गराउन नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ ।’

कांग्रेसले भनेको छ, ‘बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अहोरात्र खटिनुहुने स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्था, सञ्चारमाध्यम एवं स्वयंसेवकहरू र उद्धार तथा राहतका लागि सहयोग पु¥याउनुहुने मित्रराष्ट्रहरू, संघ–संस्था एवं सम्पूर्ण मनकारी महानुभावहरूप्रति संसदीय दलको यो बैठक हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।’

‘बाढीका कारण देशको प्रमुख लाइफलाइनका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध भई यातायात तथा आपूर्ति व्यवस्था प्रभावित हुने अवस्थालाई मध्यनजर गर्दै सुरक्षित र वैकल्पिक सडकको माध्यमलाई व्यवस्थापन गर्न तथा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव, मूल्यवृद्धि तथा कालोबजारी हुन सक्ने सम्भावनाप्रति यो बैठक सरकारको ध्यानाकर्षण गराउँदै यस परिस्थितिमा दैनिक उपभोग्य वस्तुको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न, कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न र बजार अनुगमनलाई कडाइ गर्न सरकारसँग माग गर्दछ,’ कांग्रेसले भनेको छ ।

‘भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आकस्मिक आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा ठूलो मात्रामा जनधनको क्षति भएको दुःखद् घटनाप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ,’ कांग्रेसले भनेको छ ।

‘विनाशकारी प्राकृतिक विपत्तिमा ठूलो संख्यामा नागरिकको अकल्पनीय रुपमा ज्यान गएको छभने हजारौं व्यक्ति बेपत्ता तथा सयौं संख्यामा घाइते भएका छन्,’ कांग्रेसले भनेको छ, ‘बाढीले नदी तटीयक्षेत्रका बस्ती, बजार, राष्ट्रिय राजमार्ग लगायतका सडक, पुल, जलविद्युत् आयोजना, सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पु¥याएको छ ।’

कांग्रेसले भनेको छ, ‘भौगोलिक अवस्था तथा सञ्चार सम्पर्क विच्छेदका कारण मानवीय एवं भौतिक क्षतिको वास्तविक विवरण अझै यकिन हुन सकेको छैन । बेपत्ता नागरिकहरूको खोजी, उद्धार तथा घाइतेहरूको उपचार, विस्थापित घरपरिवारलाई पुनस्र्थापना र पीडितहरुलाई मनोपरामर्श कार्यलाई उच्च प्राथमिकतामा राख्न आवश्यक छ ।’

‘बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य अत्यावश्यक पूर्वाधारको पुनःस्थापना गरी प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्दछौँ,’ कांग्रेसले भनेको छ ।

‘यस दुःखद् घडीमा बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ,’ कांग्रेसले भनेको छ, ‘बेपत्ता नागरिकहरूको सकुशल उद्धारका लागि प्रार्थना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।’

‘यस विषम परिस्थतिमा सम्पूर्ण राजनीतिक दल, संघ–संस्था, निजी क्षेत्र, नागरिक समाज तथा आम नागरिकलाई एकजुट भई उद्धार, राहत र पुनःस्थापनाको अभियानमा सहयोग गर्न हार्दिक अपील गर्दछौँ,’ कांग्रेसले भनेको छ ।

Published : Monday, 2026 August 31, 5:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया