भारतको सहयोगमा ललितपुरमा श्री कुमारी छेँ र नयाँ कुमारी निवासको उद्घाटन
लगनखेल । नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेल र ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले ललितपुरको पाटनस्थित नयाँ पुनर्स्थापित साँस्कृतिक सम्पदास्थलहरूको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
सोमबार उनीहरूले कुमारी छेँ र नयाँ कुमारी निवासको संयुक्तरुपमा उद्घाटन गरेका हुन् । शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)का
अधिकारीहरू, स्थानीय समुदायका प्रतिनिधिहरू तथा काठमाडौंस्थित भारतीय राजदूतावासका अधिकारीहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोग करीब नेरु. ५ करोड लागतमा श्री कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण गरिएको हो र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)द्वारा कार्यान्वयन गरिएको भारतीय राजदूतावासले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । जसको डिजाइन र परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रष्ट फर आट्र्स एण्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको हो ।
सांसद खरेलले स्थानीय बासिन्दाहरूको योगदानको प्रशंसा गरेका छन् । उनले जीवित सम्पदास्थलहरूको संरक्षणको महत्वमा जोड दिएका छन् । सांसद खरेलले सम्पदा स्थलहरुको पुनरस्थापना पहलमा भारत सरकारले प्रदान गरेको अमूल्य सहयोगको पनि कदर गरेका छन् ।
नगर प्रमुख महर्जनले ललितपुर र अन्य जिल्लाहरूका साँस्कृतिक सम्पदास्थलहरूको पुनर्निर्माण र पुनर्स्थापनामा भारत सरकारले पु¥याएको महत्वपूर्ण योगदानको निकै प्रशंसा गरेका छन् । महर्जनले स्थानीय समुदायलाई समेत उनीहरूको सहयोग र सहकार्यको लागि आभार प्रकट
गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले भारत र नेपालबीचको गहिरो साँस्कृतिक सम्बन्धलाई प्रकाश पारेका छन् । उनले नेपालका ऐतिहासिक धरोहरहरूको पुनर्स्थापनाका लागि भारतको निरन्तर सहयोगबारे बोल्दै यी पुनर्निर्मित संरचनाहरू दुई देशबीचको साझा सम्पदा र मित्रताको चिरस्थायी प्रतीकको रुपमा उभिएको बताए ।
भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहायतामार्फत नेपालका ८ वटा जिल्लाका ३० वटा साँस्कृतिक सम्पदास्थलहरूको संरक्षणमा सहयोग पु¥याएको छ । भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५०,००० निजी आवासहरूको पुनर्निर्माण, ८ वटा जिल्लामा ८५ वटा शैक्षिक संस्थाहरूको पुनर्निर्माण तथा नेपालका ११ वटा जिल्लामा १३३ वटा स्वास्थ्य संस्थाहरूको पुनर्निर्माणमा समेत सहयोग गरेको छ ।
यो परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई पूरक बनाउनुका साथै भारत र नेपालबीचको प्रगाढ र व्यापक विकास साझेदारीलाई प्रतिबिम्बित गर्ने भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया