बाकस साटेर बहुमत ल्याएको सरकार, पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली
भक्तपुर । एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै दुईतिहाइको वर्तमान सरकार पाँच वर्ष कुनै हालतमा नटिक्ने घोषणा गरेका छन् ।
शनिबार भक्तपुरको नगरकोटमा शुरु भएको एमाले बागमती प्रदेश ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’लाई सम्बोधन गर्दै ओलीले अराजकता र विदेशी शक्तिको आडभरोसामा बनेको सरकारलाई देश जिम्मा लगाएर बस्न नसकिने बताए ।
ओलीले चुनावमा जनतालाई तर्साएर र बाकस साटेर बहुमत देखाइएको आरोप लगाए । ‘हाटहुट, लाटलुट, जनतालाई तर्साएर, थर्काएर, बोल्न नसक्ने बनाएर र बाकस साटेर बहुमत ल्याएको देखाइयो,’ एमाले अध्यक्ष ओलीले भने, ‘यो सरकार तपाईंहरूलाई भन्दिएँ, पाँच वर्ष कुनै हालतमा जाँदैन। बहुमत आयो भन्दैमा जनताले पाँच वर्ष लुटमार गर्न दिएका होइनन् ।’
ओलीले रास्वपालाई भोट दिएर बहुमत बनाएकोमा अहिले जनतालाई पश्चात्ताप भइसकेको बताए । सरकारको स्वेच्छाचारिताविरुद्ध जनता आफैं आन्दोलित हुनुपर्ने भन्दै उनले पार्टीपंक्तिलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशनसमेत दिएका छन् ।
वर्तमान सरकारका कारण मुलुकमा लोकतन्त्र अपहरित भएको र संविधान मिचिएको जिकिर गर्दै उनले अपहरित लोकतन्त्र फिर्ता ल्याउनुपर्ने बताए ।
आफूहरू दरबार छोडाएर गणतन्त्र ल्याउने शक्ति भएकाले कसैसँग नडराउने ओलीले बताएका छन् । उनले भने, ‘यो कुन शक्तिको आडभरोसामा चलेको छ, हामीलाई मतलब छैन । यी तत्वहरूसँग हामी डराउँदैनौं ।’
सरकार र उसका समर्थकहरूले सामाजिक सञ्जालमा समेत त्रासको वातावरण सिर्जना गरेको ओलीले बताए । ‘एउटा स्टाटस लेख्नुस् त कति गाली आउँछ ! सही स्टाटस लेख्नुस्, सही कुरा बोल्नै हुँदैन, हुल्याहाहरूको आक्रमण सुरु भइहाल्छ,’ उनले भने ।
सामाजिक सञ्जालको आक्रमणबाट नडराई सत्य, जनता र जनजीविकाको पक्षमा खुलेर आवाज उठाउन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया