भालुवाङमा ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा सम्झनाको मृत्यु

मसुरिया । दाङको राप्ती गाउँपालिका–१, माथिल्लो भालुवाङस्थित पेट्रोल पम्प नजिकै ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार भालुवाङ–प्यूठान पक्की सडकखण्डमा यात्रुबाहक ईभी गाडीले स्कुटरलाई ठक्कर दिँदा ३२ वर्षीया सम्झना के.सी.को मृत्यु भएको प्रहरीले जनाएको छ ।

भालुवाङबाट प्यूठानतर्फ जाँदै गरेको प्यूठानको स्वर्गद्वारी नगरपालिका–२ निवासी २२ वर्षीय लक्ष्मण पुनले चलाएको लु.प्र.०२–००१ ज ०१०८ नम्बरको ईभी गाडीले लापेबाट भालुवाङतर्फ आउँदै गरेको अर्घाखाँचीको शीतगंगा नगरपालिका–८, लापे निवासी २० वर्षीय अभिषेक कुमालले चलाएको रा.४ प ५८३६ नम्बरको स्कुटीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटीको पछाडि सवार अर्घाखाँचीको शीतगंगा नगरपालिका–८, लापे निवासी सम्झना के.सी. घाइते भएकी थिइन् । सम्झनालाई उपचारका लागि भालुवाङ अस्पताल, दाङ लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Published : Thursday, 2026 August 20, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया