थ्रीडी मेमोग्राफी मेसिन खरिदमा सुन्दर भुसालको ग्याङ दोषी, कैद सजाय तोकियो
काठमाडौं । थ्रीडी मेमोग्राफी मेसिन खरिदमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालत, काठमाडौंले ६ जनालाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ ।
सोमबार विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले विभागका तत्कालीन व्यवस्थापन महाशाखा निर्देशक डा. श्रवणकुमार थापासहित ६ जनालाई जनही चार–चार महिना कैद सजाय तोकेको छ ।
दोषी ठहर भएकामा तत्कालीन खरिद शाखा प्रमुख सुरेन्द्रप्रसाद चौरासिया, बायोमेडिकल इन्जिनियरद्वय आशिष चौहान र पद्मा मिश्र, सञ्जयकुमार साह तथा म्याक्सिम ट्रेडर्स इन्कर्पोरेसन प्रालिका सञ्चालक सुन्दर भुसाल रहेका छन् ।
अदालतले यी प्रतिवादीहरूबीच विभागीय कर्मचारी र ठेकेदार कम्पनीबीच योजनाबद्ध मिलेमतो भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत सजाय सुनाएको छ ।
ढिलाइ भएको सामानको पूर्वनिर्धारित क्षतिपूर्ति रकम ३८ लाख ३४ हजार ७ सय २३ रुपियाँलाई दामासाहीले बाँड्दा प्रतिव्यक्ति ५ लाख ४७ हजार ८ सय १७ रुपियाँ जरिवाना तोकिएको छ । सोही बराबरको बिगो असुल गरी राजस्वमा दाखिला गर्न आदेशसमेत दिइएको छ ।
यस्तै, झुटा कागजात तयार पारेको आरोपमा दफा १९(२) अनुसार थप चार महिना कैद र २० हजार रुपियाँ जरिवाना पनि सुनाइएको छ ।
मतियारको रूपमा दोषी ठहर भएका म्याक्सिम ट्रेडर्सका सञ्चालक सुन्दर भुषाललाई समेत समान किसिमको कैद र जरिवाना तोकिएको छ ।
विशेष अदालतले सबै दोषीहरूबाट अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार जनही २१ हजार ९ सय १२ रुपियाँ क्षतिपूर्ति असुल गरी पीडित राहत कोषमा जम्मा गर्न आदेश दिएको छ ।
सोही मुद्दामा प्रतिवादी बनाइएकी तत्कालीन स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. संगीता कौशल मिश्रासहित ८ जनालाई भने अदालतले सफाइ दिएको छ ।
सफाइ पाउनेमा तत्कालीन निर्देशक डा. विवेककुमार लाल, प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, लेखा अधिकृत शम्भुप्रसाद ढकाल, कानुन अधिकृत सीता घिमिरे र लेखापाल तिलकराम ढकाल छन् ।
महानिर्देशक मिश्राले प्राविधिक तथा खरिद एकाइबाट प्राप्त कागजात र टिप्पणीका आधारमा मात्र स्पेसिफिकेसन स्वीकृत र भुक्तानी आदेश सदर गरेको देखिएकाले बदनियत प्रमाणित हुन नसकेको भन्दै अदालतले सफाइ दिएको बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया