कांग्रेस सभापति बानियाँसँग मुख्यमन्त्री लामा पराजित, राजीनामा दिन सुझाव
हेटौँडा । बागमती प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा ईन्द्रबहादुर बानियाँ अत्याधिक मतसहित निर्वाचित भएका छन् ।
बुधबार हेटौँडामा भएको निर्वाचनमा बानियाँ कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । बागमती कांग्रेसका सभापति समेत रहेका बानियाँसँग बहादुरसिंह लामा तामाङ फराकिलो मतअन्तरले पराजित भएका छन् । लामा बागमती प्रदेशका मुख्यमन्त्री हुन् ।
बानियाँले २२ मत प्राप्त गरेका छन् । लामाको पक्षमा १४ मत परेको निर्वाचन समितिले जनाएको छ । १ मत बदर भएको छ । बागतीमा कांग्रेसका ३७ सांसद छन् ।
यसअघि प्रदेश संसदीय दलको नेता रहेका लामाविरुद्ध बानियाँको नेतृत्वमा अविश्वासको प्रस्ताव ल्याएर हटाइएको थियो । लामाविरुद्ध अविश्वासको प्रस्तावमा मंगलबार भएको मतविभाजनमा २२ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । लामाको पक्षमा १५ सांसद उभिएका थिए । लामाले दल नेताको हैसियत गुमाएपछि दलको नयाँ नेता चयनका लागि बुधबार निर्वाचन भएको हो ।
लामाले २०७९ पुस १३ मा भएको प्रदेश संसदीय दलको नेता चयन निर्वाचनमा भने बानियाँलाई पराजित गरेका थिए । त्यत्तिबेलाको मतान्तर ५ रहेको थियो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता हुन् ।
कांग्रेस दल नेता छान्न प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो ।
यसैबीच, लामाले संसदीय दल नेताको हैसियत गुमाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । लामाले बुधबार मात्रै ३ जना मन्त्री नियुक्त गरेका छन् । बानियाँलाई समर्थन गर्न भन्दै प्रदेश सरकारमा कांग्रेसबाट मन्त्री बनेका ५ जनाले राजीनामा दिएका थिए ।
यसैबीच, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानियाँले बहादुरसिंह लामाले इमान्दारीपूर्वक मुख्यमन्त्री पदबाट राजीनामा नदिए पद्धति र प्रक्रियाबाट बिदाइ गर्ने बताएका छन् ।
बुधबार संसदीय दलको नेतामा चयन भएपछि पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै बानियाँले भने, ‘बहादुरसिंह लामा नेपाली कांग्रेसको संसदीय दलको नेताको हैसियतले दुई पार्टीको गठबन्धनबाट मुख्यमन्त्री हुनु भएको हो । अहिले संसदीय दलको नेताको हैसियत गुमेको अवस्था छ । त्यसकारण राजनीतिमा नैतिकता, इमान्दारिता, लोकतान्त्रिक परम्परा र परिपार्टी, जनता र पार्टीका साथीहरूको कुरालाई मान्नु भएन भने यो लोकतन्त्रको दुर्भाग्य कुरा हो ।’
‘यसको लागि प्रक्रिया छ । धेरै लामो दिन जाँदैन । त्यो प्रक्रियालाई उहाँले मार्गप्रसस्त गरे तुरुन्तै हुन्छ,’ बानियाँले भने, ‘नत्र भने लोकतन्त्रको अभ्यास छ । उहाँले नचाहेर हुँदैन । पद्धति र प्रक्रियाले सहज रूपमा उहाँलाई बिदाइ गर्छौं ।’
पार्टीभित्र आन्तरिक र बाह्य संघर्ष हुनुलाई बानियाँले लोकतन्त्रको सुन्दर पक्ष भएको बताए ।
लोकतन्त्रमा दलका नेताले ठीक ढङ्गले कार्य सम्पादन नगर्दा दलीय व्यवस्थामा आफ्नो पार्टी कमजोर हुन्छ कि भनेर दलको नेतृत्व अदलीबदली हुनुलाई अन्यथा मान्न नहुने उनले बताएका छन् ।
एक दलीय तानाशाही निरंकुश व्यवस्थामा जस्तो भए पनि दलको नेता परिवर्तन गर्न नपाइने बानियाँले बताए । उनले प्रजातन्त्र, गणतन्त्र, संघीयता, समावेशी व्यवस्थामा त्यस्तो सम्भव नहुने बताएका छन् ।
गणतन्त्र र संघीयता प्रतिको विश्वासलाई थप बलियो बनाउन कांग्रेसभित्र अहिले आन्तरिक प्रतिस्पर्धा भएको उनले बताए । बानियाँले भने, ‘यहाँ कसैको जित पनि छैन । कसैको हार पनि छैन । हिजो जिम्मेवारी एउटा साथीको थियो आज अर्को साथीको छ । फरक त्यति मात्रै हो ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया