धनकुटा प्रहरीको भवन निर्माण, आईजीपी थापाद्वारा उद्घाटन

धनकुटा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय धनकुटा परिसरमा नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका छन् ।

बिहीबार धनकुटामा आयोजित कार्यक्रममा आईजीपी थापाले कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको पनि उद्घाटन गरेका छन् ।

उनले नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण गरेका छन् । थापाले भवन निर्माण कार्यमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरूलाई कदरपत्र, प्रशंसापत्र एवम् नगद पुरस्कार प्रदान गरेका छन् ।

आईजीपी थापाले श्रीपञ्चमी पार्क बालकेन्द्र धनकुटाको आश्रयमा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका छन् ।

आईजीपी थापाले नवनिर्मित भवनहरूले जिल्ला प्रहरी कार्यालय धनकुटा र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा मनोबल वृद्धि हुनुका साथै काम प्रति थप उत्प्रेरित हुने बताएका छन् ।

नेपाल प्रहरी सबैको आशा र भरोसाको केन्द्र भएको उल्लेख गर्दै शिष्ट र सभ्य बोली, वचन एवम् व्यवहारका साथ नागरिकमैत्री र व्यावसायिक प्रहरी सेवा प्रवाहमा केन्द्रित हुन उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक थापाले शान्ति सुरक्षा एवम् वस्तुनिष्ठ अपराध अनुसन्धानएवम् नियन्त्रणमा प्रहरीले सबै स्थानीय तहसँग समन्वय र सहकार्य गर्न पनि आग्रह गरेका छन् ।

आत्महत्या, लागुऔषध दुर्व्यसन तथा सवारी दुर्घटना न्यूनीकरणमा सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्नुपर्ने बताउँदै आईजीपी थापाले घरेलु हिंसा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने अपराधमा थप सचेत हुनुपर्ने एवम् विपद् व्यवस्थापनमा समेत सक्रिय भई कार्य गर्नुपर्ने बताए ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्राविधिक प्रहरी उपरीक्षक हरि डङ्गोलले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।

नेपाल सरकारको नियमित बजेटबाट कुल ९ करोड ९९ लाख ८० हजार १ सय ८५ रूपियाँ ८५ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

Published : Thursday, 2025 May 15, 2:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया