गृहमन्त्री लामिछाने निकट मानिने सिधाकुरालाई सर्वोच्चले बृहत् पूर्ण इजलासमा पठायाे

काठमाडौं । सर्वोच्च अदालतले फेक अडियो काण्डमा मुछिएको सिधा कुरा अनलाइन, प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाविरुद्धको अवहेलना मुद्दालाई बृहत् पूर्ण इजलासबाट पठाएको छ ।

बुधबार न्यायाधीशद्वय कुमार चुडाल र विनोद शर्माको इजलासले सिधाकुराको मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउन आदेश जारी गरेको छ ।

सर्वोच्चका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको निवेदनमा ‘सिधा कुरा’, प्रकाशक र कार्यकारी सम्पादकविरुद्ध अदालतको अवहेलना मुद्दा अगाडि बढेको थियो ।

आदेशमा अडियो सामग्री कपोलकल्पित प्रमाणित भएको उल्लेख छ । अब यो मुद्दा सुनुवाइका लागि कम्तीमा ७ वा त्यसभन्दा बढी न्यायाधीश संलग्न बृहत् पूर्ण इजलास गठन हुनेछ ।

‘तथ्यपरक एवं सत्य साँचो विचार र अभिव्यक्तिको स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रता समेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षसमेत निर्देशन हुनुपर्ने देखिएको’, आदेशमा भनिएको छ ।

‘प्रस्तुत मुद्दामा पेस हुन आएको भिडियो क्लिप मोबाइल फोनमा डाउनलोड गरिएको, विवादित संवादका सम्बन्धमा वैज्ञानिक परीक्षण प्रतिवेदनबाट उक्त संवाद कपोलकल्पित रूपमा सृजित’, आदेशमा भनिएको छ ।

प्रहरीको विधिविज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सामग्री फेक पुष्टि भएको छ । प्रहरीले उक्त सामग्रीको परीक्षण गरी प्रतिवेदन सर्वोच्च अदालतमा पठाएको छ ।

‘४ सय मुद्दा हराउने गोप्य डिल, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए’ शीर्षकको सामग्री सिधा कुरा नामक अनलाइन र युट्युब च्यानलबाट वैशाख १४ मा प्रकाशन÷प्रसारण गरिएको थियो ।

अडियो प्रसारणपछि वैशाख १६ मा सर्वोच्च अदालत प्रशासनले उपरजिस्ट्रार घिमिरेमार्फत न्यायिक कार्यमा अवरोध पुग्ने गरी भ्रामक सामग्री प्रसारण भएको भन्दै सिधा कुराका कँडेल र ढुंगानाविरुद्ध अवहेलना मुद्दा दायर गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछाने निकट मानिने सिधाकुरालाई अदालतको अबहेलना गरेको अभियोगमा ठूलो फैसला हुन सक्ने सम्भावना छ ।

Published : Thursday, 2024 June 20, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया