कांग्रेस प्रवेश गरेका नयाँलाई निरास नबनाइ जिम्मेवारी दिनुपर्छ : नेता गिरी

काठमाडौं । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य किरण गिरीले पार्टीभित्रको फोहोर सफा गर्न शुद्धीकरण गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

उनले कांग्रेसमा प्रवेश गरेका नयाँ साथीहरूलाई नअल्मल्याइ, निरास नबनाइ सक्रियता, क्षमता र लगनशीलताअनुसार संगठनमा भूमिका र जिम्मेवारी दिइनुपर्ने माग राखेका छन् ।

पार्टीभित्र अवसर र भूमिका नपाएका क्षमतावान नयाँ र पुराना साथीहरूलाई आश्वासन मात्रै होइन भूमिका र जिम्मेवारी दिएर थप सक्रिय बनाउनुपर्ने गिरीले उल्लेख गरेका छन् ।

सक्षम र क्षमतावान व्यक्तिहरूलाई पार्टी प्रवेश गराउने र प्रवेश गरेका साथीहरूलाई आश्वासन दिने तथा अल्मल्याउने काम मात्र नगर्न आग्रह गरेका छन् ।

उनले भने, ‘नेपाल अब पछाडि फर्कन सक्दैन, नेपाली कांग्रेस दृढ ढङ्गले बिल्कुलै प्रष्ट छ । संविधानप्रति अपनत्वको दायारा बिस्तार गर्दै यसको माध्यमबाट नै समुन्नत नेपालको निर्माण गर्न सकिन्छ ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको यो मूल प्रभाहभित्रैबाट नेपाल र नेपालीको अवस्था बदल्ने महाअभियानमा समाहित हुन गिरीले अपील गरेका छन् ।

उनले भने, ‘हामी सबैले बुझेकै तथ्य हामी दोर्‍याउन चाहन्छौँ । दुब्लो पातलो देखिने लोकतन्त्र पनि निरंकुशता भन्दा धेरै बलियो हुन्छ ।’

राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानताका साथ अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।

गोदावरी सम्मेलनको उर्जाको बलमा समयानुकूल र बदलिएको कांग्रेस बनाउनुपर्ने गिरीले बताउ । कांग्रेसको रुपान्तरणसंगै नेपाली राजनीतिलाई रुपान्तरण गर्नुपर्ने बताए ।

राजनीतिको रुपान्तरणसँगै देशको उज्यालो भविस्यतर्फ निरन्तर अगाडि बढ्नुपर्ने उनले बताए । चुस्त, दुरुस्त, सुदृढ संगठन कांग्रेसको गोदावरी बैठकले नीतिमा स्पष्टता ल्याएको उनले बताएका छन् ।

नीति, विधि र थितिको जगमा १५ वर्षे अवधारणा साथमा समुन्नत नेपाल र सम्मानित नेपालीको मार्गचित्र सहित संगठनमा चुस्तता र मजबुतीको नवीन अवधारणा वडादेखि केन्द्रसम्म अगाडि सारेको उनले बताएका छन् ।

उनले नयाँ उत्साह र उर्जा थप्दै गोदावरीमा फागुनमा नयाँ नीति र दृष्टिकोण सहित महासमिति बैठक सम्पन्न भएको जनाएका छन् । ०७ सालको जस्तो क्रान्तिको चेत भएको कांग्रेस बनाउनु जरुरी रहेको उनले बताए ।

गिरीले ०१५ सालको जस्तो प्रगतिशीलता र समावेशीता र दुरदर्शिता भएको कांग्रेस बनाउनु जरुरी रहेको बताएका छन् ।

०४८ सालको जस्तो लोकप्रिय मत र संसदमा बहुमत भएको कांग्रेस बनाउनु जरुरी रहेको उनले बताए । ०६२÷६३ सालको जस्तो सर्बस्विकार्य नेतृत्व भएको कांग्रेस बनाउनु जरुरी रहेको गिरीले बताए ।

०८१ मा सशक्त संगठन निर्माण र परिचालन अत्यावश्यक रहेको भन्दै उनले ०८२ मा १५औं महाधिवेशन अत्यावश्यक रहेको बताएका छन् ।

०८४ को आम निर्वाचनमा कांग्रेस बहुमत सहितको संसद अत्यावश्यक रहेको उनले बताए । पार्टीको संगठन निर्माण गर्नु सबैको प्रमुख दायित्व र जिम्मेवारी भएको उनले बताए ।

लक्ष्य र उद्देश्य बोकेर नयाँ उत्साह र उर्जाका साथ सबै वडामा समुदायमा कांग्रेस अभियान लिएर फेरि जानु जरुरी रहेको गिरीले बताए ।

Published : Thursday, 2024 June 20, 8:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया