महासंघद्वारा क्रसर, बालुवा र खानी उद्योग नवीकरणको माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर, बालुवा तथा खानी उद्योगहरू नवीकरणको माग राखेर प्रदर्शन गरेका छन् ।

बुधबार काठमाडौंको माइतीघर मण्डलामा महासंघका पदाधिकारीहरूले केही समय धर्ना र प्रदर्शन गरेका छन् । उनीहरूले स्वदेशी लगानीको सुरक्षाको माग पनि गरेका छन् ।

असार १ गतेदेखि व्यवसायीहरू सडक आन्दोलनमा छन् । देशभरि १२ सयभन्दा क्रसर उद्योगहरू छन् । ती उद्योगहरूको नवीकरणमा सरकारलले ध्यान नदिँदा व्यवसायीहरू समस्यामा छन् ।

महासंघले सरकारलाई कानून बनाइदिएर आफूहरूलाई काम गरेर खाने वातावरण बनाइदिन माग गर्दै आएका छन् ।

व्यवसायीहरूका मागका सम्बन्धमा प्रतिनिधिसभाको बैठकमा आवाज उठ्न थालेको छ । सांसदहरूले आकस्मिक समय, विशेष समय र शून्य समयमा बोल्न थालेका छन् ।

व्यवसायीहरूले अबैध क्रसर उद्योगहरूलाई कानूनी प्रक्रिया पुर्‍याएर दर्ता गर्न दिनुपर्ने वा बन्द गरिदिनुपर्ने माग गर्दै आएका छन् ।

अबैध क्रसर उद्योगहरूका कारण बैध रुपमा सञ्चालनमा रहेका क्रसरहरूलाई ठूलो नोक्सानी भइरहेको छ ।

Published : Wednesday, 2024 June 19, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया