अञ्जना शाहले महिला संगठनको अध्यक्ष पदबाट राजीनामा दिइन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले पदबाट राजीनामा दिएकी छिन् ।

बुधबार राप्रपाका महामन्त्री एवम् सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् । शाहले अध्यक्ष पदबाट राजीनामा दिए पनि स्विकृत भएको छैन । उनले भनेकी छिन्, ‘आजका दिनदेखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजीनामा दिँदै म लगायत मेरो सम्पूर्ण परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटर समेत नरहने जानकारी दिन चाहन्छु ।’

‘जीवनको केही महत्वपूर्ण समयमा यस पार्टी र संगठनप्रति बिताएको हुँदा यो निर्णयले मन भारी भएको छ’, उनले भनिन्, ‘ कोही कसैप्रति कुनै पनि प्रकारको आग्रह, पूर्वाग्रह र गुनासो छैन । पार्टीमा गरेको काम र मलाई साथ दिने सबै साथीभाइ र दिदीबहिनीहरू सम्झिरहेको छु ।’

उनले भनिन्, ‘सहयोग गर्ने सबैप्रति ऋणी छु । मैले खोजेको आदर्श, निष्ठावान पार्टी, सिद्धान्तवादी पार्टी विस्तारै मख्खिदै गएकोले ममा एकप्रकारको बेचैनी थियो । मेरा लागि पद, प्रतिष्ठा र अवसर गौण विषय हो ।’

‘आफूले आफूलाई भन्नुपर्दा म राजनीतिक महत्वकांक्षी विहीन मान्छे हुँ’, उनले भनिन्, ‘ममा व्यक्तिगत मोह र आकाँक्षा केही थिएन । त्यो उकुस मुकुसबाट बाहिर निस्किनको लागि यो अप्रिय जस्तो लाग्ने निर्णय गर्न बाध्य भएकी छु ।’

राजीनामा पत्रमा शाहले अध्यक्ष राजेन्द्र लिङ्देन र संगठन समन्वय विभागका प्रमुख गोपाल दाहाललाई बोधार्थ दिएकी छिन् ।

अध्यक्ष शाहले राजीनामा बारेमा कसैलाई पनि आक्षेप लगाएकी छैनिन् । महिला संगठन राप्रपाको भ्रातृ संगठनहरूमा सबैभन्दा सक्रिय संगठन मानिन्छ । शाहले महिला संगठनलाई निकै सक्रिय र संगठित बनाएकी थिइन् ।

Published : Wednesday, 2024 June 19, 9:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया