अबैध सुन र ४८ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले चिनियाँ नागरिक ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरूङलाई करीव ६ किलाे सुन र ठूलाे रकमसहित पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ बौद्ध तिनचुली चारघरे डेरा गरी बस्ने चिनियाँ नागरिक बताउने शेरब ग्याल्मोलाई ९९९.९ गोल्ड १ केजी लेखिएको अवैध सुन ६ थान र नगद ४८ लाख रूपियाँसहित आइतबार पक्राउ गरेको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

२०८० साउन २ गते बरामद भएको ६० केजी अवैध सुनको थप अनुसन्धानको क्रममा अवैध सुन खरिद बिक्री वापत अवैध सुनको भुक्तानी यूएसडीटीबाट दिने मानिसहरूको खोजी गर्ने क्रममा व्यूरोबाट खटिएको प्रहरीले अवैध सुन र यूएसडीटीको कारोवारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीले चिनियाँ नागरिकको कोठाबाट उक्त सुन र नगद बरामद गरेको छ । सुनसहित चिनियाँ नागरिक पक्राउ गरिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

Published : Monday, 2024 June 17, 9:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया