अबैध क्रसरहरूलाई दर्ता र व्यवसायीका समस्या समाधानको मागसहित आन्दोलन

काठमाडौं । सरकारले आफ्ना मागप्रति चासो नदिएपछि दवाव दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सडक आन्दोलन शुरु गरेको छ ।

महासंघले आइतबार काठमाडौंको कलंकीमा सडकमा प्रदर्शन गरेको छ । सरकारले क्रसर व्यवसायीको समस्या समाधान गर्ने हो भने विधिवत रुपमा कारोबार गर्न तयार रहेको व्यवसायीहरूले बताएका छन् । सरकारले सबैभन्दा पहिला नवीकरणसम्बन्धी समस्याको हल गर्नुपर्ने व्यवसायीहरूले माग गरेका छन् ।

व्यवसायीहरूले वार्ता समिति गठन गरेर दीर्घकालीन रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् । धेरै अबैध क्रसर उद्योगहरू सञ्चालनमा छन् । ती अबैध क्रसरलाई प्रक्रिया पुर्‍याएर दर्ता गराउने र कानूनसम्मत सञ्चालनमा रहेका क्रसरलाई नवीकरण गर्ने वातावरण बनाइदिनुपर्ने माग व्यवसायी र उद्योगीहरूको माग छ ।

अवैध रुपमा सञ्चालन भएका क्रसर उद्योगहरूका कारण नियमसंगत सञ्चालन रहेका क्रसर उद्योगहरूलाई निकै समस्या परेको छ । सोही कारण अबैध क्रसरहरूलाई पनि प्रक्रिया पुर्‍याएर दर्ता गरेपछि कानूनी रुपमा सञ्चालन भएका क्रसरलाई पनि राहत हुनेछ ।
प्रदर्शनका क्रममा अबैध क्रसरहरूलाई नवीकरण र सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर कानूनभित्र ल्याउन अध्यक्ष सीताराम न्यौपानेले माग गरे ।

अध्यक्ष न्यौपानेले कानूनको दायरामा आउन बाँकी क्रसरहरूलाई समय दिन माग गरेका छन् ।

अध्यक्ष न्यौपानेले भने, ‘हाम्रा समस्याहरू हल गर्दै जानुपर्छ । सरकारले वातावरण बनाउनु पर्छ । समिति बनाएर वार्ता गर्नुपर्छ ।’

क्रसर व्यवसायीहरूले अनिश्चितकालीन आनदोलन गरिएको बताए । उनले क्रसर व्यवसायमा रहेका मजदुरहरू पनि आन्दोनमा सहभागी भएको बताएका छन् ।

उनले भने, ‘अभिभावक भनेको सरकार हो । हाम्रा जायज मागहरू सरकारले सुन्नुपर्छ । हाम्रा स्रोतहरू सित्तैमा बगेर गएका छन् । वार्षिक रुपमा खर्बौं रुपियाँ बराबर जलेर गएको छ । हाम्रा कृषिजन्य चिजहरू कुहिएर गएका छन् । हाम्रा नदीजन्य स्रोतहरू बगेर गएका छन् । खानीजन्य बगेर गएका छन् ।’

‘यो स्रोतलाई संरक्षण गरेर देशलाई समृद्ध बनाउने किसिमले हामीले अन्तर्राष्ट्रिय बजारीकरण गरेर त्यहाँबाट विदेशी मुद्रा आर्जन गरेर, भित्र्याएर यो मुलुकलाई समृद्धि गराउने हो । सरकारले यसको नीति बनाउने हो । हामीले देश बनाउने हो । देश बनाउनको निम्ति हाम्रो पूर्ण रुपमा योगदान छ’, अध्यक्ष न्यौपानेले भने ।

क्रसर व्यवसायीहरूले सोमबार पनि काठमाडौंमा प्रदर्शन गर्न लागेका छन् । उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका छन् ।

Published : Monday, 2024 June 17, 11:32 am

फेसबुकबाट तपाईको प्रतिक्रिया