नेपालीहरूद्वारा राष्ट्रपति पौडेललाई वर्लिनमा स्वागत

वर्लिन (जर्मनी) । जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा वर्लिनमा विशेष स्वागत समारोह आयोजना गरिएको छ ।

वर्लिनस्थित जर्मनीका लागि नेपाली राजदूतावासले आइतबार पौडेलको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको हो । समारोहमा प्रथम महिला सबिता पौडेल, भ्रमण दलका सदस्य र जर्मनीस्थित नेपालीहरूको सहभागिता थियो ।

राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त गरेका छन् । उनले संसारमा जहाँ रहेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नविर्सन आग्रह गरेका छन् ।

पौडेलले भने, ‘जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पु¥याउन म सबै नेपालीलाई हार्दिक आव्हान गर्दछु ।’

राष्ट्रपति पौडेललाई जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्का तथा नेपालीहरूले स्वागत गरेका थिए ।

राजदूत खड्काले जर्मन–नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराए ।

जर्मनीमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम, समस्या र राजदूतावासले गरिरहेको सहकार्य तथा समन्वयबारे जानकारी गराएका छन् ।

राष्ट्रपति पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए ।

Published : Monday, 2024 June 17, 9:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया