प्रचण्ड र मोदीबीच भेटवार्ता, दिल्लीमा भव्य स्वागत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।

नयाँदिल्लीमा दाहाल र मोदीबीच भेटवार्ता भएको छ । दाहालले मोदीलाई भारतको प्रधानमन्त्री पदमा निरन्तर तेस्रो कार्यकालको शपथग्रहण गरेकोमा बधाइ तथा शुभकामना दिएका छन् ।

मोदीको तेस्रो कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइँमा पुग्ने विश्वास दाहालले व्यक्त गरेको निजी सचिवालयले जनाएको छ ।

मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन पुगेका दाहाललाई नयाँदिल्लीमा भव्य स्वागत भएको छ । मोदीले दाहाललाई निकै महत्व दिनुका साथै लामो कुराकानी पनि गरेका छन् । दाहाल र मोदीबीच भएको कुराकानी र सम्वादले ठूलो अर्थ राखेको बताइएको छ ।

दाहाल र मोदीबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

उनीहरूका बीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको छ ।

शपथग्रहण समारोहमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूको सम्मानमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रिभोजमा पनि प्रधानमन्त्री दाहाल सरिक भएका छन् ।

Published : Monday, 2024 June 10, 2:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया