महानिर्देशकद्वारा ‘मन्त्री खुस्किने भएपछि तामाङलाई गाली, भावी मन्त्रीलाई ‘रञ्जु डार्लिङ्ग’ रे’ समाचारको खण्डन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले रिपब्लिका दैनिक डटकममा प्रकाशित ‘मन्त्री खुस्किने भएपछि तामाङलाई गाली, भावी मन्त्रीलाई ‘रञ्जु डार्लिङ्ग’ रे’ शीर्षकको समाचारको खण्डन गरेका छन् ।

महानिर्देशक अधिकारीले आइतबार ४ बुँदामा खण्डन पठाएर भनेका छन्, ‘प्रकाशित समाचार सञ्चारमाध्यमको सामान्य सिद्धान्त विपरितको तथ्यहीन, भ्रामक, कपोकल्पित र झुठ्ठा समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले भनेका छन्, ‘संस्कृति, पर्यटन तथा नागरिक मन्त्रीलाई हालसम्म कहिँ कतै पनि आक्षेप लाग्ने गरी बोलेको छैन र बोलिदैन पनि ।’

‘पूर्वमन्त्री एवम् सांसद रञ्जिता श्रेष्ठलाई कहिँ कतै होच्याएर नबोलिएको हुँदा उहाँप्रति प्राधिकरणको महानिर्देशक अधिकारीले बोलेको भनी मिडियाले प्रयोग गरेका शब्द अत्यन्तै निकृष्ट, निन्दनीय र खेदजनक भएको हुँदा बिनाप्रमाण सार्वजनिक मिडियाले त्यस्ता आपत्तीजनक शब्द प्रयोग गर्नु पत्रकारिताको मर्म विपरित जनतामा भ्रामक र अफवाह फैलाउने कार्य भएको छ’, अधिकारीले भने ।

मन्त्री खुस्किने भएपछि तामाङलाई गाली, भावी मन्त्रीलाई ‘रञ्जु डार्लिङ्ग’ रे

उनले भने, ‘प्राधिकरणमा कार्यरत कर्मचारी र महानिर्देशकबीच सुमधुर सम्बन्ध रहि प्राधिकरणको काम कर्तव्य सुव्यवस्थित रुपमा अगाडि बढिरहेको समयमा महानिर्देशकले कर्मचारीलाई गालीगलौच गरेको भनी आरोप लगाइ मिथ्या समाचार प्रकाशित भएको छ ।’

महानिर्देशक अधिकारीले समाचारको प्रतिक्रिया लिन प्राधिकरणको प्रधान कार्यालयमा आउन भनेर चुनौती दिएका छन् ।

महानिर्देशक अधिकारीसँग रिपब्लिका दैनिकले समाचार प्रकाशित गर्नुभन्दा पहिला फोनहरूमा सम्पर्क प्रयास गर्दै आएको छ । तर, उनले फोन नउठाउने, कार्यालयको ल्याण्डलाइन फोन नउठ्ने आदि समस्या रहेका छन् ।

Published : Sunday, 2024 June 9, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया