डम्बर खड्काको पक्षमा प्रचार गर्न चुलाचुलीमा कांग्रेसका दर्जन नेताहरू सहभागी

चुलाचुली । इलाम २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काको पक्षमा चुनावी प्रचार प्रसारका लागि एक दर्जन केन्द्रीय नेताहरू चुलाचुली आइपुगेका छन् ।

मंगलबार चुलाचुली गाउँपालिकाको आइतबारेमा चुनावी प्रचार प्रसारका लागि महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरू कार्यक्रममा सहभागी भएका हुन् ।

नेताहरूले मतदाताहरूसँग कांग्रेसको चुनाव चिन्ह ‘रुख’मा मतदान गरेर डम्बर खड्कालाई विजयी बनाउन अनुरोध गरेका छन् ।

नयाँ पार्टीका नयाँ चिप्ला कुराको विश्वास नगर्न र सहकारीका करोडौं ठगीमा मुछिएकाहरू राज्य सत्ताको दुरुपयोग गरेर इलामका जनतालाई भ्रम छर्न आएको नेताहरूले बताएका छन् ।

चुलाचुलीमा इलाम कांग्रेसले चुनावी कार्यक्रम राखेको थियो । कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्मा, सह–महामन्त्रीद्वय महालक्ष्मी उपाध्याय ‘डीना’ र भीष्मराज आङ्गदम्बे, प्रवक्ता डा.प्रकाशशरण महत, केन्द्रीय सदस्य शेखर कोइराला, केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, केन्द्रीय सदस्यहरू सीता गुरुङ, सरिता प्रसाइँ, राजिव ढुङ्गाना, सुजाता परियार, कोशी प्रदेश कांग्रेसका सभापति उद्धव थापा, पूर्वसांसद महेन्द्र लिम्बु, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

चुनावी कार्यक्रममा उम्मेदवार डम्बर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य शेखर कोइरालालाई मात्रै बोल्न दिइएको थियो ।

Published : Tuesday, 2024 April 23, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया