देशमा संकट पर्दा लामिछाने भाग्नुभयाे, आफ्नै परिवारलाई धोका दिनुभयो : तरुण अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले देश संकटमा परेका बेला परिवार बोकेर रवि लामिछाने भागेर अमेरिका पुगेको बताएका छन् ।

सोमबार नेपाल तरुण दल सिरहाले लहानमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले भने, ‘देशमा संकट पर्दा, यो देशमा जनयुद्ध हुँदा, यो देशमा बस्न लायकको छैन भनेर यिनै रवि लामिछानेहरू आफ्ना परिवार लिएर अमेरिका भागेका थिए ।’

उनले भने, ‘जब देशमा हामीले शान्ति प्रक्रिया स्थापना ग¥यौँ । जब देशमा राजनीतिक माहोल भयो । यही रवि लामिछानेहरू जाँदा एउटा परिवार लिएर जानुभएको थियो ।’

‘तर, आउँदा अर्कै परिवार लिएर आउनुभयो । परिवारमाथि पनि धोका दिनुभयो । जाँदा एउटा नागरिकता बोकेर जानुभएको थियो । एउटा पासपोर्ट बोकेर जानुभएको थियो । तर, आउँदा दुई/दुई वटा नागरिकता र दुई/दुई वटा पासपोर्ट बोकेर देशलाई ढाँट्नुभयो’, अध्यक्ष गुरुङले भने ।

उनले भने, ‘गृहमन्त्रीज्यू, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने र अहिलेको गृहमन्त्री तपाई रवि लामिछाने एउटै हो कि होइन ? त्यो प्रश्न गर्न चाहन्छौँ । यदि एउटै होइन भने रास्वपाको सभापति रवि लामिछानेलाई तपाई कारबाही गर्ने कि नगर्ने ? यी दुइवटै एक हो भने तपाईमाथि छानविन समिति बनाउने कि नबनाउने ?’

‘तपाईले आफूले आफैलाई कारबाहीको दायरामा ल्याउने कि नल्याउने ?’, अध्यक्ष गुरुङले प्रश्न गरेका छन् ।

उनले भने, ‘एमाले र माओवादीसहित नेपालका वामपन्थी पार्टीहरू २०७४ सालमा जसरी जितेर दुईतिहाईको बहुमत ल्याउँदै गर्दा, सरकार बनाउँदै गर्दा हाम्रै पार्टीका नेता कार्यकर्ता देशका सुरक्षाकर्मी, कर्मचारी, पत्रकार, नागरिक समाज सबैलाई लागेको थियो कि अब मुलुकमा वामपन्थीहरूले २० वर्षसम्म शासन गर्नेछ ।’

‘यिनीहरूको विरुद्धमा बोल्दा अब हाम्रो सुरक्षा छैन यो सारा संसार नेपालवासी निरास थिए’, उनले भने ।

‘नेपाल तरुण दलले हिम्मत गरेका थियौँं । सातै प्रदेशमा त्यो सरकारविरुद्ध सडक आन्दोलन हामीले गरेका थियौँ । मैले नै भनेको थिएँ’, उनले भने ।

‘जतिबेला निर्मला हत्या काण्डमा यदि बहालवाला गृहमन्त्री रामबहादुर थापाको छोरालाई यदि पक्राउ गरेर अनुसन्धान गर्ने हो भने निर्मला हत्या काण्डको अपराधी त्यहिँ पत्ता लगाउँछौँ हामीले भनेका थियौँ । त्यही परिवेश अहिले बन्दैछ’, गुरुङले भने ।

Published : Monday, 2024 April 22, 7:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया