रास्वपाका नेता र मन्त्री धमाधम सहकारीको रकम ठगीमा परेपछि गृहमन्त्री लामिछाने के भन्छन् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभपाति समेत रहेका गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा पार्टीका नेताहरूको नाम जोड्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् ।

मंगलबार भवनमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले भने, ‘समाचार आएपछि पुग्यो ! तपाईंहरूले त्यसलाई हेर्नुपर्ने, प्रमाण खोज्नुपर्ने, सही हो कि होइन, भन्नेकुरा !’

‘हेडलाइनमा एउटा प्रश्न राखेर..! ठगीमा भनेर प्रश्न राखिदिएको हो कि, हत्कडी लगाएर प्रमाणित गरिदिएको हो कि, भन्नु नपर्ने ?’, लामिछानेले भने ।

गृहमन्त्री लामिछानेले पत्रिकाले छाप्नेबित्तिकै दोषी ठहर नहुने बताएका छन् । ‘छापिदिएपछि पुग्यो । साथीहरू त पत्रकार नै हुनुहुन्छ जस्तो लाग्छ, सबै जना’, लामिछानेले भने ।

उनले भने, ‘एउटा पत्रकारले, पत्रिकाले कतै लेखिदिएपछि त्यो प्रमाणित नै भन्ने मान्यता हामीले बनाउने हो भने त सकिहाल्यो ।’

‘होइन, तपाईंहरूको अन्य साथीहरूले के रहेछ भनेर हेर्दा, खोज्दा सुन्दा, प्रश्न उठाउने, आशंकाहरू अभिव्यक्त गर्ने, हामीलाई जिम्मेवार बनाउनलाई गर्ने क्रम चलिरहन्छ’, गृहमन्त्री लामिछानेले भने ।

उनले भने, ‘प्रश्न उठ्दैमा आत्तिनुपर्ने कुरा छैन । सदनमा उठेका कुरा मैले सदनमा उभिएर बोल्न पाउनुपर्छ ।’

गृहमन्त्री लामिछानेबाट सहकारीको रकम ठगी गरेको बारेमा अनुसन्धान गर्न संसदीय छानविन समिति माग माग गर्दै आएको छ ।

गृहमन्त्री लामिछाने सहकारीको रकम ठगी प्रकरणमा मुछिएका बेला रास्वपाकै उपसभापति समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) र सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी पनि सहकारीको रकम फिर्ता नगरेको अभियोगमा परेका छन् ।

Published : Tuesday, 2024 April 2, 2:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया