इलामको उप-चुनाव कांग्रेसलाई जिताउन आजैदेखि लाग्नुस्, नयाँ जोगीले धेरै खरानी लगाउँछन् : खतिवडा

पाँचथर । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गेरुवस्त्र लगाएको कुरा स्मरण गराइदिएका छन् ।

शनिबार पाँचथरमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता खतिवडाले कांग्रेसको महासमितिको बैठकमा धर्मको स्टल राखेको विषयमा गठबन्धन तोडेको कुरा गर्न नसुहाउने बताए । उनले भने, ‘धर्मको स्टलनै थापेको भनेर गठबन्धन तोडेको भन्ने प्रधानमन्त्रीले भारत जाँदा गेरुवस्त्र लगाएर मन्दिरमा आफू पुगेको बिर्सनु हुँदैन ।’

नेता खतिवडाले नयाँ भनिएको पार्टीहरू सबै कुरामा र स्टण्डमा रमाउने मात्र रहेको बताएका छन् । नयाँ पार्टीको हुती देखिएको बताउँदै उनले नयाँ पार्टीले अरु केही नगर्ने बताए ।

सभापति खतिवडाले भने, ‘नयाँ जोगिहरू खरानी धेरै घस्ने मात्र हुन् । अरु केही गर्ने हुती छैन ।’

कांग्रेसले २००७, ०१५, ४६ र ०६२/०६३ सालको सम्पूर्ण आन्दोलनको नेतृत्व गरेर देशलाई संविधान बनाएर दिएको उनले बताए ।

कांग्रेसले स्थानीय तहको स्थापना गरेर गाउँगाउँमा स्थानीय सरकार समेत दिएको उनले बताएका छन् ।

नेता खतिवडाले कांग्रेसको संगठनको मुख्य जग स्थानीय तह भएको बताए । उनले प्रत्यक वडा, टोल र घर बलियो बनाउन समेत नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

अबको केही समयपछि इलाममा उपनिर्वाचन हुने भएकोले प्रत्येकले आफन्तलाई फोन गरेर, भेटेर जे–जे गरेर हुन्छ कांग्रेसलाई चुनाव जिताउन अनुरोध गरेका छन् ।

आफन्तलाई भनेर कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न लगाएर कांग्रेसको उम्मेदवारलाई विजयी बनाउनुपर्ने सभापति खतिवडाले बताए ।

कार्यक्रममा कांग्रेसका नेता डा.शशांक कोइराला, सह–महामन्त्री भीष्मराज आङ्दम्बे लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2024 March 30, 5:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया