कांग्रेस सांसद थकालीद्वारा मुस्ताङका लागि करीव ८० कार्यक्रम माग, प्राथमिकतामा जोमसोम-कोरोला सडक

काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङ जिल्लाका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका मन्त्रालयसँग आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न ८० वटा जति कार्यक्रमको माग गरेका छन् ।

बिहीबार सिंहदरबारमा सांसद थकालीले विकास र निर्माणसँग जोडिएका मन्त्रालयमा मन्त्री तथा सचिवहरूलाई भेट गरेर मुस्ताङका ५ वटा पालिकाका लागि करीव ८० वटा आयोजनाहरू माग गरेको सांसद थकालीले बताएका छन् ।

सांसद थकालीले विशेष गरेर जोमसोम–कोरोला निमार्णधीन सडकका लागि विशेष पहल गर्दै बजेट माग गरेका छन् । पूर्वमन्त्री एवम् कांग्रेसका नेता रोमी थौचन थकालीको विशेष पहलमा शुरु भएको ‘ड्रिम प्रोजेक्ट’ म्याग्दी–जोमसोम–कोरोला सडकलाई सांसद थकालीले छिटोभन्दा छिटो पूरा गर्ने योजनासहित बजेट माग गरेका छन् । यो सडक खण्डको काम निकै सुस्त गतिमा भए पनि सांसद थकालीले एक वर्षदेखि सडक निर्माणको कार्यलाई गति दिन लगाएका छन् । काम पनि उल्लेख्य भएको छ ।

सांसद थकालीले मुस्ताङ जिल्लामा सिंचाईको समस्या रहेको भन्दै उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतसँग भेट गरेर विभिन्न आयोजनाहरू माग गरेका छन् ।

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ स्थित चैले गाउँ सिंचाई कार्यक्रमका लागि थकालीले बजेट माग गरेका छन् । त्यसका लागि १ करोड माग गरिएको छ ।

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ स्थित छुसाङ गाउँ छोमनाङ आरसीसी सिंचाई परियोजनाका लागि २ करोड माग गरिएको छ ।

बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ५ स्थित फल्याक सिंचाई तथा कुलो परियोजनाका लागि सांसद थकालीले ५० लाख माग गरेका छन् ।

सांसद थकालीले मन्त्री बस्नेतसँग थसाङ गाउँपालिका वडा नं. १ टुक्चे थापा खोला आरसीसी तटबन्धका लागि १ करोड बजेट माग गरेका छन् ।

सांसद थकालीले सहरी विकास मन्त्रालयसँग आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा कार्यक्रम समावेश गर्न मागसहित ५ वटा कार्यक्रम माग गरेका छन् ।

फासाङ गाउँपालिका वडा नं.३ धम्पुसांगो फुलुङ कृषि पर्यटन सडक (निर्माणधीन सम्पन्न गर्नुपर्ने) मुस्ताङका लागि ३५ लाख माग गरिएको सांसद थकालीले बताएका छन् ।

थासाङ गाउँपालिका वडा नं. ४ छयो झिब्रा देउराली सडक, पुल निर्माणधीनका लागि ५० लाख माग गरिएको छ ।

मुक्तिनाथ बसपार्कदेखि मन्दिरसम्म ऐतिहाँसिक यार्तुङ पर्वको निम्ति ढल सहित बाटो (छप्पनी ढुङ्गा) निर्माणका लागि सात करोड बजेट सांसद थकालीले माग गरेका छन् ।

लो घेकर दामोदर कुण्ड गाउँपालिका वडा नं. ४ र ५ ध्ये–ताङ्ग्या सडक मुस्ताङ निर्माणधीन सडकका लागि ३ करोड बजेट माग गरिएको छ ।

लोमाङथाङ गाउँपालिका वडा नं. २ निफुक नाम्डोल नोरबुलिङ गुम्बा परिसर पूर्वाधार निर्माण (निर्माणधीन)का लागि २ करोड बजेट माग गरिएको सांसद थकालीले बताएका छन् ।

सांसद थकालीले मुस्ताङ जिल्लाको ६ वटै पालिकाका लागि करीव ८० वटा योजना र कार्यक्रमहरू माग गरेर सबै मन्त्रालयमा पत्र बुझाएका छन् । उनले भने, ‘मुस्ताङ जिल्लाको समग्र विकाशका लागि ८० वटा योजना माग गरेको छु । सबै योजनाहरूमा बजेट र कार्यक्रम पार्नका लागि मेरो पहल रहनेछ ।’

Published : Friday, 2024 March 29, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया