गृहमन्त्री लामिछानेको न्याय : प्रचण्ड र ओलीका पूर्वपिएसओहरू एसपी बढुवाको प्राथमिकतामा परे

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) बढुवामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीका पूर्वसुरक्षा अङ्ग ( पिएसओ)हरूलाई बढुवा सिफारिसको प्राथमिकतामा परेका छन् ।

डिएसपीबाट एसपीमा बढुवाका लागि बढुवा सिफारिस परेका केही डिएसपीहरूको विषयमा विवाद भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेर बढुवा सिफारिस गरिएको आरोप लागेको छ ।

ईन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुँदा पहिलो नम्बरमा प्रदीपबहादुर क्षेत्री थिए । डिएसपीबाट एसपीमा बढुवा सिफारिस गर्दा क्षेत्रीको नाम छुटाइएको छ ।

डिएसपीद्वय सन्तोष तामाङ र राजन लिम्बू एमालेका अध्यक्ष ओली प्रधानमन्त्री रहेका बेला पिएसओ भएका थिए । ओली २०७२ मा प्रधानमन्त्री हुँदा तामाङ पिएसओ भएका थिए । ओली २०७५ सालमा प्रधानमन्त्री हुँदा लिम्बू पिएसओ थिए ।

दाहाल २०७८ मा प्रधानमन्त्री हुँदा विनोद घिमिरे पिएसओ भएका थिए ।

प्रहरी हेडक्वाटरको बढुवा सिफारिस समितिले ८ जना डिएसपीहरूलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको छ । रिक्त ८ दरबन्दीका लागि १२ जना डिएसपीहरू प्रतिस्पर्धामा थिए ।

यसअघि, कात्तिक २४ गते बसन्त रजौरे, रविकुमार पौडेल, नवीन राई, वीरेन्द्रबहादुर ओली र चन्द्रदेव बढुवा भएका थिए ।

प्रहरी प्रधान कार्यालयले माघ ७ मा एसपी रमेश बस्नेतलाई बढुवा गरेपछि एसएसपी बनाएपछि ८ वटा दरबन्दी रिक्त थिए ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रहरीमा हस्तक्षेप नगर्ने बताउँदै आएका छन् । तर, डिएसपीबाट एसपी बढुवामा प्रधानमन्त्री दाहाल र एमालेका अध्यक्ष ओलीका पूर्वपिएसओहरू परेपछि प्रहरी मुख्यालयमा निकै चर्चा भएको छ ।

Published : Thursday, 2024 March 28, 7:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया