कल डिटेल बाहिरिएको बारे आइजीपीले छानविन गर्ने, जीवनको अन्तर्वार्तालाई प्रमाण नमान्ने

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले फरार सूचीमा रहेका व्यवसायी जीवन चलाउनेको अडियो बयानलाई तथ्य प्रमाणको आधार बनाउन नसकिने बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आइजीपी कुँवरले जीवन चलाउनेले मिडियामा बोलेका विषय तथ्यका रूपमा लिन नसकिने बताएका हुन् ।

व्यवसायी जीवन चलाउने ६० किलो सुन तस्करी प्रकरणमा मुछिएपछि प्रहरीको फरार सूचीमा छन् ।

एआइजी श्याम ज्ञवालीले आइजी बन्न आफूसँग २ करोड रूपियाँ मागेको आरोप जीवन चलाउनेले लगाएका छन् । जीवन चलाउनेले दिएको अन्तर्वार्ता दिएको विषय समितिमा प्रश्न उठेपछि आईजीपी कुँवरले आरोपलाई प्रमाणका रुपमा लिन नसकिने बताएका छन् ।

आइजिपी कुँवरले जीवन चलाउनेको आरोपलाई सतही कुरामात्रै भएको बताएका छन् ।

‘यहाँ विभिन्न मान्छेको विभिन्न किसिमको स्वार्थहरू छन्’, कुँवरले भने, ‘मिडिया तथ्य बिना सतहमा ल्याउने, प्रतिष्ठा के हो, इज्जत के हो, त्यो हिसाबको ध्यान नपु¥याएको कारणले यो समस्या आएका छन् ।’

उनले भने, ‘सम्बन्धित व्यक्ति जो हो, त्यो व्यक्ति पक्राउ नहुँदासम्म यी कुराहरूलाई तथ्यको रूपमा लिन सकिने अवस्था छैन ।’

कल डिटेल रेकर्ड (सिडिआर) को फोटोहरू पनि बाहिरिएको विषयमा आइजीपी कुँवरले आन्तरिक छानबिन गर्ने बताएका छन् ।

‘सिडिआर कसरी गयो भन्ने विषयमा पनि मैले हेरेँ । त्यो अत्यन्तै संवेदनशील छ’, उनले भने, ‘त्यो विषय कसरी गयो, कहाँबाट गयो, भन्ने विषयमा मेरो आन्तरिक छानबिनको विषय हुन्छ, गर्छु ।’

सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जीवन चलाउनेसँग बयान कागज गराएर छाडेको उल्लेख छ ।

Published : Wednesday, 2024 March 27, 4:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया