नख्खुको खाजा घरमा प्रहरी छापा, ईमानसिंसहितका मानिसहरू पक्राउ

काठमाडौं । अवैध रूपमा जुवा खेल्ने खेलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ ।

चैत १० गते बेलुका अन्दाजी ७ बजेर २० मिनटको समयमा ललितपुर महानगरपालिका वडा नं. १८ नख्खुस्थित ईमानसिं रुम्बाको रुम्बा खाजा घरमा छापामारेर प्रहरीले जुवातास खेल्ने र खेलाउने समूहलाई पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

रुम्बा खाजा घरको कोठा नम्बर १०४ मा जुवातास खेलाइरहेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी टोलीले छापामारेको थियो ।

जुवातास खेली रहेको स्थानबाट १० जना पुरुष व्यक्तिहरूसहित दुई लाख छ हजार सात सय पच्चीस रुपियाँ, तास २ (दुई) बुक समेत बरामद भएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयबाट जुवा खेल्न खेलाउन नहुने सम्बन्धी कसूरमा सात दिन म्याद थप भएको छ ।

पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका वडा नं.४ घर भई हाल ललितपुरको नख्खुमा बस्ने वर्ष ४४ को राजेन्द्रबहादुर आले मगर, ललितपुरको नख्खु बस्ने वर्ष ३० को मुकेश महर्जन, ईलामको जितपुर घर भई हाल ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४० सूर्यबहादुर दर्लामी मगर, काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका वडा नं.२ घर भई काठमाडौंको कीर्तिपुर बस्ने वर्ष ४३ को कामीसिं भोलन रहेका छन् ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नं.२ घर भई हाल ललितपुरमा बस्ने वर्ष ४८ को बुद्धशरण भोलन, हेटौँडा घर भई हाल ललितपुरको नख्खु बस्ने वर्ष ४९ को बीरबहादुर मोक्तान, ललितपुरको मिलनबस्ती बस्ने वर्ष ५२ को राजेश अधिकारी रहेका छन् ।

मकवानपुरको ईन्द्रसरोवर– २ घर भई हाल ललितपुरको रानीबुँ बस्ने वर्ष ५० को डिलबहादुर वाइवा, ललितपुरको तापाहिटी बस्ने वर्ष ४५ को विकाश शाही खड्गी, मकवानपुरको ईन्द्रसरोवर– २ घर भई हाल ललितपुरको नख्खुस्थितमा रुम्बा खाजा होटल सञ्चालक वर्ष ४२ को ईमानसिं रुम्बा पनि पक्राउ परेका छन् ।

Published : Tuesday, 2024 March 26, 7:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया