सर्लाहीका भेटेरिनरी अस्पतालका हाकिमसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
सोमबार भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा.सुनिलकुमार यादव र चक्रघट्टा गाउँपालिका–९ का तत्कालीन वडा अध्यक्ष राम ईश्वर ठाकुर लोहार सहित ६ जनाविरुद्ध आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
कृषि सेड निर्माणको क्रममा काम भएको भन्दा बढी मूल्याङ्कन गराई भुक्तानी गरेको भन्दै अदालत आरोप पत्र दायर भएको छ ।
आयोगका अनुसार ९ लाख ७७ हजार १६ रुपियाँ बढी भुक्तानी दिएको पाइएको छ ।
अख्तियारले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरी, आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादवविरुद्ध मुद्दा दायर गरी जनही ९ लाख ७७ हजार १६ बराबर बिगो कायम गर्दै सोही अनुसार सजाय गरी बिगोसमेत जफत गर्न माग दाबी गरेको छ ।
000
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
टंगाल, काठमाडौं
मिति: २०८०।१२।१२ गते ।
प्रेस विज्ञप्ति
विषय: आरोपपत्र दायर गरिएको ।
जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका वडा नं. ९ गोइयाहीमा संचालित आम्रपाली बहुमुखी सहकारी संस्थालाई भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मंलगवा सर्लाहीबाट आ.व. २०७५/०७६ मा कृषि सेड निर्माणको लागि रकम उपलब्ध गराएकोमा उक्त रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन नि. कार्यालय प्रमुख डा. सुनिल कुमार यादवले कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्याङ्कन गराई आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडले पेश गरेको नापी किताव तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी/नगराई सोही प्रतिवेदन स्वीकृत गरी श्री आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडलाई रू.९,७७,०१६।९४ बढी भुक्तानी दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसूर गरी प्रदेश सरकारलाई हानी र आम्रपाली बहुमुखी सहकारी संस्था लि.लाई गैरकानूनी लाभ पुर्याएको देखिँदा निजलाई रु.९,७७,०१६।९४ (नौ लाख सतहत्तर हजार सोह्र रुपैयाँ चौरानब्बे पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जरिवाना तथा कैद गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन योजना शाखा प्रमुख सुरेन्द्र महतो कोइरीले कृषि सेड निर्माण कार्य गर्नको लागि दोस्रो पक्षसँग भएको सम्झौतामा संलग्न रहेको, भुक्तानीको लागि आम्रपाली बहुमुखी सहकारी संस्थाले पेश गरेको लगत इस्टिमेट बमोजिमको नगरेको कामलाई गरेको भनी रु.९,७७,०१६।९४ बढी भुक्तानीको लागि सिफारिस गरी सो आधारमा भुक्तानीसमेत भएबाट निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) बमोजिमको कसुर गरी प्रदेश सरकारलाई हानी र आम्रपाली बहुमुखी सहकारी संस्थालाई गैकानूनी लाभ पुर्याएको देखिँदा निजलाई रु.९,७७,०१६।९४ (नौ लाख सतहत्तर हजार सोह्र रुपैयाँ चौरानब्बे पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम जरिवाना तथा कैद गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
जिल्ला सर्लाही चक्रघट्टा गाउँपालिका वडा नं. 9 का तत्कालीन वडा अध्यक्ष श्री राम ईश्वर ठाकुर लोहारले कम परिमाणको कार्यलाई लगत इस्टिमेट अनुसार कार्य सम्पन्न भएको भनी भुक्तानीको लागि सिफारिस गरी रु.९,७७,०१६।९४ भुक्तानी भएको हुँदा उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा निजलाई रु.९,७७,०१६।९४ (नौ लाख सतहत्तर हजार सोह्र रुपैया चौरानब्बे पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको जरिवाना तथा कैद गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।
आम्रपाली बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र प्रसाद यादव, उपाध्यक्ष जय नारायण राय र व्यवस्थापक जय नन्दन राय यादवले पशुपन्छी व्यवसाय प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७६ को दफा (८)४ को पूर्ण पालना नगरी निजहरुले गलत प्रतिवेदनको आधारमा सम्झौताबमोजिम कृषि निर्माण कार्य सम्पन्न भैसकेको र सम्झौताबमोजिमको रकम भुक्तानीको लागि माग गर्ने भनी निर्णय गरेको, लगत इष्टिमेट बमोजिम नगरेको कामलाई गरेको भनी झुट्टा कार्य सम्पन्न प्रतिवेदन तयार गरी फिल्डमा वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी गराई सम्झौता विपरीत कार्य सम्पन्न भएको भनी रकम भुक्तानीको लागि निवेदन पेश गरी रु.९,७७,०१६।९४ भुक्तानी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर गरेको हुँदा निजहरुउपर जनही रु.९,७७,०१६।९४ (नौ लाख सतहत्तर हजार सोह्र रुपैया चौरानब्बे पैसा) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिई आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
नरहरि घिमिरे
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया