कम्युनिस्ट गठबन्धन सरकार बन्नेवित्तिकै श्रेष्ठको चीन भ्रमण स्वीकृत

काठमाडौं । कम्युनिस्ट गठबन्धनको सरकार बन्नेवित्तिकै उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जान लागेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण स्वीकृत गरेको छ । श्रेष्ठ चीनको साताव्यापी औपचारिक भ्रमणमा आइतबार जानेछन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणामा श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् । श्रेष्ठ आइतबार अपराह्न काठमाडौंबाट प्रस्थान गर्ने र सोमबार बेइजिङ पुग्ने कार्यक्रम छ । मंगलबार उनले समकक्षी वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमण दलमा उनीसँग परराष्ट्रको उत्तर–पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, शिष्टाचार अधिकृत र छलफलका क्रममा बुँदा टिप्ने प्रयोजनका लागि अधिकृत हुनेछन् ।

बेइजिङबाट राजदूत विष्णुपुकार श्रेष्ठ, उपनियोग प्रमुख सुरेन्द्रकुमार यादव सहभागी हुनेछन् । उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङपछि चोङचिङ, सिचुआन र तिब्बतको भ्रमण गर्ने तयारी छ । तिब्बतको मौसम र उनको स्वास्थ्यले साथ दिएमा कैलाश मानसरोवरको दर्शनमा जाने कार्यक्रम छ ।

कम्युनिस्ट गठबन्धनको सरकार बनाउने क्रममा श्रेष्ठको भूमिका पनि मानिन्छ । चीन निकट मानिने श्रेष्ठले नै नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँगको गठबन्धन बनाएका हुन् ।

Published : Thursday, 2024 March 21, 3:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया