लामिछाने र पुनविरुद्ध नेविसंघद्वारा सिंहदरबार अगाडि प्रदर्शन, प्रहरीद्वारा धरपकड

काठमाडौं । सहकारीको अर्बौं रकम ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ ।

मंगलबार बिहान सिंहदरबार अगाडि नेविसंघले उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन गरेको हो । नेविसंघले सहकारी प्रकरणमा मुछिएका लामिछानेविरुद्ध निष्पक्ष छानविनको माग गरेको छ ।

गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शनमा सहभागी भएकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछानेमाथि नैतिक प्रश्न हुँदाहुँदै उपप्रधान तथा गृहमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस र उसका भ्रातृ संस्थाहरूले विरोध जनाउँदै आएका छन् ।

यसअघि, सोमबार चाबहिलको पशुपति क्याम्पसमा नेविसंघ विद्यार्थीले गृहमन्त्री लामिछानेको पुत्ला दहन गरेका छन् ।

नेविसंघका नेता कार्यकर्ताले मंगलबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । नेविसंघका नेता कार्यकर्ताले अर्थमन्त्री पुनलाई सुनमन्त्री भनेर प्ले कार्ड बोकेका थिए ।

नेविसंघका नेता कार्यकर्ताले गृहमन्त्री लामिछानेका साथै सुन तस्करी प्रकरणमा मुछिएका अर्थमन्त्री वर्षमान पुनविरुद्ध पनि प्रदर्शन गरेका छन् ।

Published : Tuesday, 2024 March 19, 12:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया